आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कास्कीमा कांग्रेस र वाम गठबन्धनबीच कडा टक्कर, यस्ता छन् उम्मेदवार

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०७४



  • पोखरा, कार्तिक १६ । कास्कीमा प्रतिनिधी सभा र प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेस, वाम गठबन्धन सहित अन्य दलहरुले आफ्ना उमेदवार छनोट गरेका छन ।

    आजै दलहरुले वाजा गाजा सहित उम्मेदवारी दर्ता गर्दैछन् । यसअघि ४ क्षेत्र रहेको कास्की हाल ३ वटा निर्वाचन क्षेत्रमा सीमित भएको छ ।

    कास्कीमा वाम गठबन्धनले केही उम्मेदवार पहिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै उम्मेदवारको छनोट बुधबार राती गरेको छ ।

    माओबादी र एमालेबीच चुनावी तालमेल भएपछि सोही अनुसार कास्कीमा क्षेत्र वाँडफाँड गरेर दलगत रुपमा उम्मेदवार छनोट गरिएको हो ।

    कास्कीमा माओबादीले प्रदेशसभा अन्तर्गतका ३ वटा निर्वाचन क्षेत्र मात्रै पाएको छ भने ३ प्रदेशसभा सहित तीनवटै प्रतिनिधी सभा एमालेको भागमा छ ।

    एमालेले प्रतिनिधी सभा सदस्यका लागि कास्कीमा क्षेत्र नम्बर १ बाट खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्मालाई अघि सारेको छ ।

    खगराज २०६४ सालमा माओबादी उम्मेदवार देव गुरुङसँग सोही क्षेत्रमा पराजीत भएका थिए भने रवीन्द्र दुवै पटकका बिजेता हुन् ।

    रवीन्द्रले २०६४ मा माओबादी उम्मेदवार झलकपाणी तिवारी र २०७० मा कांग्रेस उम्मेदवार शोभियत बहादुर अधिकारीलाई पराजित गरेका थिए । जगत चाहिं समानुपातिक सांसद छन् ।

    प्रदेशसभाका लागि एमालेले १(ख), २(क) र ३(ख) पाएको छ ।

    क्षेत्र नम्बर १(ख) बाट पार्टीका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, २(क) बाट जिल्ला अध्यक्ष कृष्ण थापा र ३(ख) बाट युवासंघका केन्द्रिय अध्यक्ष राजीव पहारी उम्मेदवार बनेका छन् ।

    थापा दोस्रो संविधानसभा चुनाव २०७० मा काँग्रेसकी उम्मेदवार शारदा पौडेलसँग पराजित भएका थिए । गुरुङ र पहारी चाहीं पहिलो पटक सांसद चुनाव लड्न लागेका हुन् ।

    उता ३ सीट मात्रै पाएको माओबादी केन्द्रले पनि जिल्लाका ३ वटै क्षेत्रका एक÷एक प्रदेशसभा सदस्यका उम्मेदवार छानिसकेको छ ।

    जसअन्तर्गत क्षेत्र नम्बर १(क) मा जिल्ला अध्यक्ष दिपक कोइराला, २(ख) मा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ र ३ नम्बर क्षेत्रको प्रदेश क्षेत्र (क)मा सह इञ्चार्ज रामजी बराल छन् ।

    गुरुङ २०६४ को संविधानसभा चुनावमा कास्की २ बाट विजयी भएका थिए भने बराल २०७० को चुनावमा कास्की ३ बाट एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भएका ब्यक्ति हुन् । कोइराला चाहीं संसदीय चुनावमा नयाँ अनुहार हुन् ।

    कास्की जित्न रणनीति तयारी गरिरहेको कांग्रेसले पनि जिल्लाका सबै उम्मेदवार टुंगो लगाएको छ ।

    क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्य बन्न वहालवाला कानुनमन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापालाई टिकट दिएको छ ।

    २ नम्बरमा देवराज चालिसे र ३ नम्बरमा शुक्रराज शर्मा उम्मेदवार बन्नेछन् ।

    थापा २०६४ को चुनावमा माओबादी उम्मेदवार देव गुरुङसँग पराजित भए भने २०७० को दोश्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार मान बहादुर जिसीलाई पराजित गरी संसद सदस्य निर्वा्चित भएका थिए ।

    चालिसे र शर्मा दुवैजना पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन् । २०५६ सालमा अपर हाउसको सांसद मनोनित भएका शर्मा कास्की कांग्रेसको इतिहासमा सबैभन्दा लामो समय पार्टी सभापति भएका थिए ।

    प्रदेशसभा अन्तर्गत १ (क) मा जीवन परियार, (ख) मा जिल्ला सभापति कृष्ण केसी, २ (क) मा गुरु बराल, (ख) मा विन्दुकुमार थापा र ३ (क) मा शारदा पौडेल तथा (ख) मा भोज बहादुर गुरुङ सिकन्दरलाई टिकट दिएको छ ।

    राती अवेरसम्म भएको बैठकले झण्डै सयको हाराहारीबाट ९ जना उम्मेदवार टुंगो लगाएको हो । क्षेत्र नम्बर १ का उम्मेदवार मंगलबार नै निर्णय गरिएपनि बुधवार पुनः हेरफेर गरिएको छ ।

    यसअघि तिलक रानाभाटलाई १ (क) बाट टिकट दिएको भनिएपनि बुधबार त्यसलाई परिवर्तन गरेर काँग्रेस केन्द्रिय सदस्य तथा सांसद जीवन परियारलाई टिकट दिईएको हो ।

    प्रदेशसभा अन्तर्गत ३ (क) कि उम्मेदवार शारदा पौडेल पहिलो संविधानसभा चुनावमा माओबादी उम्मेदवार राजकाजी गुरुङसँग पराजीत भएकी थिईन् भने दोस्रो चुनावमा एमाले उम्मेदवार कृष्ण थापालाई पराजित गरी सांसद बनेकी थिईन् ।

    प्रदेशसभाका बाँकी सबै उम्मेदवार संसदीय चुनावका लागि नयाँ हुन् ।

    यसैबीच, टुंगिएका उम्मेदवारहरुले विहीबार उम्मेदवारी दर्ता गर्नेछन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र अनुसार छुट्टाछुट्टै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

    मनोनयन दर्ता गरेका उम्मेदवारको सूची निर्वाचन समितिले विहिबार नै प्रकाशन गर्नेछ । त्यसपछि १७ गतेसम्म परेको उजुरी हेरेर १८ गते उम्मेदवारको नामावली सार्वजनिक हुनेछ ।

    कार्तिक १९ गतेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् भने सोही दिन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न समेत दिनेछ ।

    कास्की लगाएतका जिल्लामा आउँदो मंसिर २१ गते चुनाव गर्ने तयारी गरेर निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यक्रम थालेको हो ।

    जिल्लाभर हाल २ लाख ५५ हजार मतदाता छन् भने उनीहरुलाई मतदानका लागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ ।

    क्षेत्र नम्बर १(क) मा ५० हजार २ सय ८९, (ख) मा ४५ हजार ७ सय ९५, २ (क) मा ३७ हजार ६ सय ४३, (ख) मा ३३ हजार ८, ३(क) मा ४६ हजार २ सय ५२ र ३ (ख) मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij