प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४
बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।
तिनै नेताहरू बीच प्रतिस्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर, चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउँछ । सरकारका मन्त्री मंसुर देश र जनताका लागि काम गरेर लोकप्रियता बटुलेका उम्मेदवारका रुपमा परिचित रहेका छन्।
त्यति मात्र नभई विकासप्रेमीका रुपमा पनि उत्तिकै लोकप्रिय रहेका छन् मन्त्री मंसुर । फोरम नेपालका अध्यक्ष यादव भने तराई मधेशको आन्दोलनमा बारामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरी मधेशको हकअधिकारका लागि अहोरात्र खटेका पात्रका रुपमा जिल्लाभरि नै चर्चा कमाएका छन्।
त्यसैगरी, वाम गठबन्धनका उम्मेदवार पाण्डे पनि सरल, अनुशासित, जनप्रेमी, विकासप्रेमी, समाजसेवीका रुपमा जिल्लामा नै परिचित नेताका रुपमा गनिन्छन्।
त्यसैले, निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij