प्रकाशित मिति : शुक्रबार, मंसिर १, २०७४
सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै कमाउने गरेको नेपाल टेलिकमको पहिलो त्रैमासमा नाफा खुम्चिएको छ। कम्पनीले यस आवको साउन, भदौ र असोजमा ४ अर्ब ५ करोड खुद नाफा कमाएको छ।
जवकि अघिल्लो वर्षको यस अवधिमा ४ अर्ब १४ करोड कमाएको थियो। कम्पनीको आम्दानी बढे पनि खर्च बढ्दा नाफा खुम्चिएको हो।
कम्पनीले ११ अर्ब ८३ करोड आम्दानी गरेको छ। जवकि गत वर्ष यस अवधिमा यो ११ अर्ब ३६ करोड थियो। गत वर्ष कुल खर्च ५ अर्ब ७६ करोड भएकोमा यो वर्ष बढेर ६ अर्ब ३९ करोड पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। १०८ रुपैयाँ १७ पैसामा प्रतिसेयर आम्दानी खुम्चिएको छ। जवकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११० रुपैयाँ ४८ पैसा थियो।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५९६ बाट बढेर ६४३ रुपैयाँ भएको छ। कम्पनीको सेयरमा लगानी भने प्रतिफलमूलक देखिन्छ। बजारमा बिहीबार कारोबार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८५० रुपैयाँ छ। अहिलेको प्रतिसेयर आम्दानीसँग यसलाई हिसाव गर्दा मूल्य आम्दानी अनुपात ७. ८ रहेको छ।
बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ। ८१ अर्बको जगेडा कोष रहेको कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। ९१ प्रतिशत बढी सरकारी स्वामित्व रहेको कम्पनीमा सर्वसाधारणको हिस्सा ४.४ प्रतिशत छ। बाँकी स्वामित्व कर्मचारी तथा नागरिक लगानी कोषको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij