माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ।
गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।
गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेको हो। यद्यपी उनका बुबा चुनावी प्रचार प्रसारका क्रममा झापामा रहेकाले उनी आएपछि मात्रै हस्पिटलले डिक्लियर गर्ने नर्भिक अस्पतालका प्रेस संयोजक आर पी मैनालीले जानकारी दिए। ‘बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइए पनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए। तर उनको बुबा नआएसम्म डिक्लियर नगरेको हो। उनको मृत्यु कुन रोग वा कसरी भएको भन्ने बारेमा डाक्टरहरुले आफूलाई केही जानकारी दिएका छैनन्, मैनालीले भने।
दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
यस्तै माओवादी केन्द्रका एक उच्च नेताले सेतोपाटीसँग प्रकाशको निधन बिहानै भइसकेको जानकारी गराए। ‘प्रकाशको निधन बिहानै भइसकेको हो। हामी अध्यक्षज्यूलाई कुरिरहेका छौ,’ ती नेताले भने।
प्रचण्ड परिवारका ५ सदस्यसहित झापाबाट काठमाडौं फर्किएका छन्। उनीसँगै छोरी ज्वाई पनि साथै आएका छन्। दिदी रेणु चितवनबाट काठमाडौं फर्कदैछिन्। प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन्। उनी पनि अहिले नै काठमाडौं फर्कदैछिन्।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp
— Baburam Bhattarai (@brb1954) November 19, 2017
प्रकाश पूर्वप्रधानमन्त्री दाहालका एक मात्र छोरा हुन्। उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए। उनलका दुई श्रीमती र दुई छोरा छन्।
यसैबीच अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम सुरू भएसँगै अस्पतालमा सुरक्षा कडा गरिएको हो।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ।


