प्रकाशित मिति : आइतवार, पुस १६, २०७४

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आइतबार राजधानीमा ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भने, ‘मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ ।’
प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताए । उनले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गरे ।
प्रधानमन्त्रीले तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताए ।
कार्यक्रममा बिभिन्न मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए ।
‘स्थिरता र समृद्धिका लागि सुदृढ ट्रेड युनियन आन्दोलन’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा देशभरबाट विभिन्न मजदूर संगठनका प्रतिनिधि सहभागी छन् ।
नेपालका प्रमुख राजनीतिक पार्टी निकट रहेर ट्रेड युनियन आन्दोलनमा आबद्ध १० ट्रेड युनियनको साझा संगठनका रुपमा १० वर्षअघि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको स्थापना गरिएको थियो ।
मजदूरका विषयमा एउटै धारणा र साझा आवाज बनाई सरकारलाई दबाब दिने उद्देश्यले केन्द्रको निर्माण गरिएको बताइएको छ । केन्द्र निर्माण गर्दा सम्मेलनमार्फत प्रमुख मजदूर संगठनले आलोपालो नेतृत्व गर्ने सहमतिअनुरुप सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । (रासस)
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij