प्रकाशित मिति : आइतवार, माघ २१, २०७४
प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ।
आइतबार बस्ने पहिलो प्रदेश सभा बैठका लागि शनिबार बसेको सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी सो मिति निर्धारण गरेको जनाइएको छ।
संघीय संसद् सचिवालयका उपसचिव वंशीराज पौडेलले मस्यौदामा सामान्य संशोधन गरिएको बताउँदै सभामुखको निर्वाचनको तालिका २९ गते निर्धारण गरिने जानकारी दिए।
कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ।
बैठकले नियमावली मस्यौदा समिति गठन सम्बन्धमा विस्तृत छलफल गरी अर्को बैठकमा अन्तिम रुप दिने निर्णय गरेको छ।
त्यस्तै बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ।
प्रदेशसभाको पहिलो बैठक आइतबार दिनको ११ बजे शैक्षिक तालीम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij