आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किन फुकेन एमाले-माओवादी एकताको गाँठो

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’

    आजको अन्नपूर्णमा रामकृष्ण अधिकारी अगाडि लेख्छन्- सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए।

    के-के छन् गाँठा ?

    – दुवै पार्टीको मूल नेतृत्वको व्यवस्थापन

    – बहुदलीय जनवाद, माओवाद र एक्काइसौं शताब्दीको जनवाद

    – गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ

    – दोस्रो तहका नेताको स्वार्थ र दबाब

    यसले प्रस्टै बुझाउँछ, एमाले-माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।

    राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइमा एमाले-माओवादी एकता अहिले माओवादी अध्यक्ष दाहालको पदीय व्यवस्थापनमा अल्झिएको छ। ‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रचण्डजीले स्वीकार गरिसकेको कुरा हो। यसबाहेक ठूलो पार्टीको अध्यक्ष भएका हिसाबले उहाँको अन्य अवस्था के ? ’ सुवेदी भन्छन्, ‘त्यस्तै प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’

    वार्तामा रहेका नेताहरूले छलफलका विकल्प सार्वजनिक नगरे पनि अन्तर्य कुरा मूल नेतृत्वको विवाद नै रहेको सजिलै बुझ्न सकिने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘संगठनात्मक सिद्धान्त, विचार र पद विभाजनका विषयवस्तु मिलाउनुपर्ने छ। सबैभन्दा बढी पेचिलो पद विभाजन नै होला,’ श्रेष्ठ भन्छन्, ‘अहिले समय लिएको पनि पद विभाजनले नै हो जस्तो देखिन्छ। यो सजिलैसँग हुँदैन।’

    अल्झिएको विषय यतिमा मात्र सीमित छैन, एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओवाद, एक्काइसौं शताब्दीको जनवादका विषयमा पनि यी दुई पार्टीको शीर्षस्थ नेतृत्व टुंगोमा पुग्न सकेको देखिँदैन। यही जटिलता दुई पार्टी एकताका लागि तगारो देखिन पुगेको विश्लेषकको ठम्याइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij