प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४
प्रदेश नं. ६ मा वाम गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। बिहिबार मुख्यमन्त्री नियुक्त भएसँगै शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने गरि गठबन्धनले तयारी थालेको हो। प्रदेश ६ मा एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला वा गुलाबजंग शाहको नेतृत्वमा सरकारमा जाने तयारीमा छ। ज्वाला र शाह दुवै सल्यानबाट निर्वाचित् सांसद् हुन्।
यस्तै, सरकारमा सहभागी हुन मन्त्रीका आकांक्षीहरूले दौडधुप गरिरहेका छन्। एमालेका तर्फबाट हुम्लाबाट निर्वाचित सांसद् दल रावल र सुर्खेतबाट निर्वाचित सांसद खड्गबहादुर खत्री मन्त्री बन्ने सम्भावना छ।
एमालेले महिलाबाट पद्मा बोहोरा र मीना रखालमध्ये एकजनालाई मन्त्री बनाउने सम्भावना छ। बोहरा डोल्पाबाट र रखाल दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । यदि प्रकाश ज्वाला सरकारमा नगए दैलेखबाट निर्वाचित् सांसद अम्मरबहादुर थापा मन्त्री बन्ने बलियो सम्भावना छ।
माओवादी केन्द्रबाट भने जुम्लाबाट निर्वाचित् नरेश भण्डारी मन्त्री बन्ने करिब पक्का भएको छ। माओवादीको भागमा दुई जना मन्त्री छन्। माओवादी स्रोतका अनुसार मन्त्रीमा महिला पठाउँदा रुकुमका बिमला केसी र महिला नपठाउँदा सुर्खेतका विन्दमान विष्ट मन्त्री बन्ने छन्। यस प्रदेशमा माओवादीको भागमा मुख्यमन्त्री बाहेक दुईवटा मन्त्री परेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij