आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विदेशमा डाक्टरी पढेका ९० प्रतिशत लाइसेन्स परीक्षामा फेल

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान् ? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी ३६ पटकसम्म अनुत्तीर्ण भएको पाइएपछि काउन्सिल पदाधिकारी नै चकित परेका छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    ३६ पटक असफलताको स्वाद चाखेका ती विद्यार्थी दुई महिनाअघि भएको लाइसेन्स परीक्षामा भने सहभागी थिएनन् । उनले वर्षमा तीन पटकसम्म परीक्षा दिएका थिए ।

    ३६ पटकसम्म असफल हुने ती विद्यार्थीको मोटिभेसनको तारिफ गर्ने काउन्सिलका पदाधिकारी यदि त्यस्तो विद्यार्थी उत्तीर्ण भए कस्तो उपचार गर्थे होलान् ? भन्ने जिज्ञासामा भने मौन छन् ।

    प्रत्येक पटक असफल नतिजा भोगेका ती विद्यार्थी प्रदेश २ को भएको काउन्सिल स्रोतले जनाएको छ । काउन्सिल पदाधिकारीको एउटै जिज्ञासा छ, १२ वर्षदेखि परीक्षा दिइरहेका ती विद्यार्थी अहिले के गरिरहेका होलान् ?

    डाक्टरी पढाइका लागि बर्सेनी नेपालबाट अर्बौं धनराशि विदेश पलायन भएको छ । पढेर फर्किएका सयांै विद्यार्थी लाइसेन्स परीक्षामा फेल भइरहेका छन् । अवस्था कहालीलाग्दो छ । डेढ महिनाअघि काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका विद्यार्थीमध्ये झन्डै ९० प्रतिशत मात्र उत्तीर्ण भए ।

    नेपाल मेडिकल काउन्सिलका पदाधिकारी विदेश पढ्न जाने अधिकांश विद्यार्थी मेधावी नभएको तर्क गर्छन् ।
    काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटा भन्छन्, ‘मेडिकल शिक्षा पढ्नका लागि योग्य नै नभएका व्यक्तिलाई पैसाकै बलमा अभिभावकले जसरी भए पनि विदेश पढ्न पठाउँछन् । त्यस्ता विद्यार्थीले लाइसेन्स परीक्षा नै पास गर्न सक्दैनन्।’

    विदेशका १० वटा मुलुकबाट एमबीबीएस पढेर आएका कुल पाँच सय २६ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा ५८ जना मात्र उत्तीर्ण भए ।

    दुई महिनाअघि २०१७ डिसेम्बरमा लिइएको लाइसेन्स परीक्षामा ११ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुँदा विदेशमा पढेर आएका विद्यार्थीको योग्यतामा प्रश्न उठेको छ ।

    एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रतिविद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ ।

    काउन्सिलका अध्यक्ष बास्कोटा बाहिरी मुलुकका मेडिकल कलेजको शैक्षिण गुणस्तर अनुगमन गर्नु पहुँच बाहिरको विषय भएकाले यस्तो नतिजा आएको तर्क गर्छन् । उनी थप्छन्, ‘पढेर आइसकेपछि फेक सर्टिफिकेटका रूपमा हेर्न मिल्दैन । हाम्रो मापदण्डमा प्रवेश गराउनका लागि लाइसेन्स परीक्षा लिनै पर्ने हुन्छ । परीक्षा लिँदा १० प्रतिशत मात्र पास हुनुले कमजोर विद्यार्थी विदेशमा पढ्न गएजस्तो देखियो ।’

    काउन्सिलका अनुसार पाकिस्तान, किर्गिस्तान, जर्जिया र बेलारुसमा एमबीबीएस पढेर आएका कोही पनि सफल हुन सकेनन् । यी चार देशमा पढेका २३ जना विद्यार्थीले यसअघिको परीक्षामा पनि असफल भएको काउन्सिल स्रोतले बतायो।

    एमबीबीएसको जस्तै निराशाजनक तस्बिर बीडीएसको पनि छ । बंगलादेश र फिलिपिन्सबाट बीडिएस पढेर आएका ८ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा सबै असफल भए । काउन्सिलका अनुसार बंगलादेशबाट बीडीएस पढेर आएका ६ जना परीक्षामा सहभागी थिए भने फिलिपिन्समा पढेर आएका दुई जना परीक्षामा सहभागी थिए ।

    अभिभावकको अनुभवमा एउटा विद्यार्थीले साढे पाँच वर्षको एमबीबीएस पढाइ सकेर स्वदेश फर्कंदासम्म झन्डै ५० लाख खर्च गर्ने गरेको छ ।

    विदेश पढ्न पठाए पनि स्वदेशमा फर्केर लाइसेन्स परीक्षा उत्तीर्ण नगर्दासम्म अभिभावकको अवस्था न दिनको भोक न रातको निद्रा हुने गरेको छ । अन्य मुलुकबाट एमबीबीएस सकेर आएका विद्यार्थीको पनि अवस्था सन्तोषजनक छैन । चीनमा एमबीबीएस पढेर आएका विद्यार्थीमध्ये झन्डै ९४ प्रतिशत असफल भएका छन् । बंगलादेशमा पढेर आएका १ सय ४४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत असफल भए । फिलिपिन्समा पढेर आएका २३ जना विद्यार्थीमध्ये १९ जना विद्यार्थी असफल भए ।

    त्यस्तै, युक्रेनमा एमबीबीएस पढेर आएका २० जनामध्ये १३ जना असफल भए । भारत र रुसबाट एमबीबीएस पढेर आएका १२÷१२ जना विद्यार्थी लाइसेन्स परीक्षामा सहभागी भएका थिए । तीमध्ये भारतबाट आएका पाँच जना फेल भए । रुसबाट आएका सात जनाले असफलता भोगे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij