प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४
फिल्म ’शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ। फिल्मको रिलिजको लागि एक महिनाको समय बाँकि रहँदा निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्ममा देखिने जोडीलाई नै समेटिएको छ। सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोष्टर तयार गरिएको छ। सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ। फिल्मनगरीमा तिन पुस्ताको रुपमा बुझिने यिनलाई नै समेटेर पोष्टर तयार गरिएको छ।
थिम अनुसारनै फिल्मको पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताए। श्रीधर पौडेलको फोटोग्राफी रहेको यस पोष्टरलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ , किरण केसी , शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ। फिल्मको सार्वजनिक पहिलो गीत रुपै मोहनी ९४ लाख पटक युट्युबमा हेरिसकिएको छ भने दोस्रो सार्वजनिक गीत पिरतीको बर्कोलाई पनि दर्शकले रुचाइरहेका छन्।
हलमा रिलिज गरिएको फिल्मको ट्रेलरलाई दर्शकले रुचाइ रहदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो। फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ।
‘फिल्मको पोष्टरलाई हामीले कथा अनुसार नै तयार पारेका छौ। पोष्टरमा जोडीलाई प्रस्तुत गरिएको छ भने एक पोष्टरमा सबै कलाकारलाई अटाएका छौ। पोष्टरलाई फिल्मकै थिम अनुसार र क्यारेक्टर अनुसार नै तयार गरिएको छ। फिल्मको ट्रेलर हामी केहि दिनमा नै सार्वजनिक गर्नेछौ,’ प्रदिप भट्टराईले भने।
पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन्। यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij