प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०७४

काठमाडौं, फागुन १६ । संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रति कामदार चार हजार ३०० रकम थप लिएपछि सर्वसाधारण मारमा परेका छन् ।
गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि जाने कामदारले अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम ल्याएकोमा प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका हुन् ।
वर्षमा सरदर ५० हजार नेपाली रोजगारीका लागि युएईमा जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि ती नेपाली कामदारमाथि २१ करोड ५० लाख रकम व्ययभार बढेको छ ।
यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले पनि युएई जाने कामदारबाट थप रकम आर्थिक भार पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको प्रहरीले सिफारिश गरी उपलब्ध गराएको प्रहरी प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरद्वारा प्रमाणीकरण गरिसकेपश्चात् दूतावासबाट थप प्रमाणीकरण गर्न आवश्यक नरहेको उल्लेख छ ।
उनले नेपाल सरकारको प्रहरी प्रशासन र कन्सुलर सेवा विभागले प्रमाणित गरेको प्रतिवेदन स्वतः प्रमाणित प्रतिवेदन हुने समेत बताए ।
उनले शुल्कका विषयमा श्रम तथा रोजगार मन्त्रालय मौन देखिनु खेदपूर्ण रहेको समेत उल्लेख भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij