आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शशांकको निष्क्रियताले सिंहको भोट घट्यो!

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४



  • पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ। निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    आफूले प्रभाव पार्न सक्ने केही भोटका लागि पनि कोइरालाले पहल नगरेको चर्चा कांग्रेसभित्र छ । उद्योगी विनोद चौधरी, सत्यनारायण खनाल र कर्मा घलेको भाग देउवातिर जानबाट शशांकले रोक्न नसकेको आरोप पौडेल पक्षका नेताले लगाउन थालेका छन् । पौडेल पक्षका डा. मिनेन्द्र रिजाल र डा. नारायण खड्कालेसमेत देउवालाई भोट हालेको चर्चा कांग्रेसमा छ ।

    पौडेल पक्षका नेता दिलेन्द्रप्रसाद बडु केही सांसदले विकल्पको कुरा गरे पनि कुनै अवसर पाउने आशामा सभापतिलाई नै भोट हालेको हुन सक्ने बताउँछन् । ‘सभापतिको विकल्पको कुरा पनि उठेका थिए । तर, सभापति नै उठ्दा विकल्पमा दिनुभन्दा अवसर पाउन सकिन्छ भन्ने केहीमा देखियो’ बडुले नयाँ पत्रिकासित भने, ‘यसले पनि केही भोट फरक परेको हुन सक्छ । तर, कसले कता हाल्यो भन्न सकिन्न ।’

    सर्वसम्मत भएको भए महामन्त्री कोइरालाले आफैँ दलको नेतामा अघि बढ्ने तयारी गरेका थिए । तर, देउवाले नछाड्ने भएपछि उनलाई सर्वसम्मत हुन नदिन पौडेल पक्षले सिंहलाई अघि सारेको हो । तर, पनि अपेक्षित मत यो पक्षले ल्याउन सकेन । पछिल्लो समय सिटौला पक्ष देउवासँग असन्तुष्ट भएपछि पौडेल पक्षले सिटौला पक्षका भीमसेनदास प्रधानबाहेक दुई मत र देउवा पक्षकै केही मत तान्न सक्ने अपेक्षा गरेको थियो । तर, उनीहरूले सोचेभन्दा भिन्न परिणाम आयो । एक नेता देउवा खेमामै गए ।

    प्रमुख सचेतक, सचेतक र समितिमा सभापति बन्न पाउने आशासमेतले सांसदहरूले भोट क्रस गरेको एक केन्द्रीय नेता बताउँछन् । शशांक उठेका भए देउवाले ३६ र शशांकले २७ मत ल्याउने अनुमान थियो । तर, शशांक अघि नबढ्दा र सक्रिय नहुँदा देउवा झनै हाबी भएका हुन् । पौडेल पक्षकै नेता बडु महामन्त्री कुनै पक्ष र विपक्षमा नलागेको बताउँछन् । ‘महामन्त्रीले पक्ष र विपक्षमा लागेर सक्रिय हुन्न भन्दै आउनुभएको छ’ उनले भने, ‘उहाँले एक ठाउँमा भोट हाल्नुभयो होला, तर पक्ष र विपक्षमा नखुल्नुभएको हो ।’ १३औँ महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा शशांक निर्वाचित भएदेखि नै यी दुई नेताबीच खासै विवाद छैन । पार्टी सञ्चालन प्रक्रियामा सभापतिलाई सहयोग नै गर्नुपर्छ भन्ने मान्यता शशांकले राख्दै आएका छन् ।

    कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।

    कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij