प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४

नेपालमा नयाँ सरकार गठनसँगै प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार्न प्रयासरत रहेको भारतले एकाएक ओलीलाई बधाइ दिन पाकिस्तानी प्रधानमन्त्री अब्बास काठमाडौं आएपछि विभिन्न कोणबाट विश्लेषण गर्न थालेको छ । यद्यपी अब्बासीको नेपाल भ्रमणबारे भारतीय विदेशमन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन ।
भारतीय मिडियामा भने पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण र ओली सरकारले उनलाई गरेको सत्कारबारे चर्चा हुन थालेको छ ।
भारतीय अखबार ‘दैनिक जागरण’ को मंगलबार प्रकाशित अंकमा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे समाचारका साथसाथै यो भ्रमणबाट भारतका सामू उपस्थित चुनौतीलाई विश्लेषणात्मक रुपमा पेश गरिएको छ ।
ओली सरकारले लिएको दिशा भारतका लागि चिन्ताको प्रमुख कारण रहेको पनि सो अखबारमा उल्लेख छ । समाचारमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीका बारेमा भारतको आशंका सत्य साबित हुँदै गएको छ । पहिला चीनको समाचारपत्रमा दिएको साक्षात्कारमा भारतको कुटनीतिक हितविरुद्ध कुरा गरेर र पछि पाकिस्तानका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर ओलीले भारतीय कुटनीति समक्ष ठूलो चुनौती पेश गरेका छन् ।’
नेपालमा नयाँ सरकार गठनपछि भारतीयभन्दा पहिला पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण हुनु पहिलोपटक भएको पनि समाचारमा उल्लेख छ ।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि भारतविरोधी व्यवहार गरेको भन्दै उक्त समाचारमा लेखिएको छ, ‘दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीलाई मनाउन भारतले धेरै प्रयास गरे पनि उनको व्यवहारमा खास परिवर्तन देखिएको छैन ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij