बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विमान दुर्घटनामा परेर बाँचेका सनम शाक्य बयान यस्तो छ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी बाँचेकाहरुमध्ये कतिपयको अवस्था अझै खतरामुक्त हुन सकेको छैन ।

    राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये कुरा गर्नसक्ने अवस्थामा रहेका घाइतेको स्मरण निकै कहालीलाग्दो छ ।

    ललितपुर जिल्ला बालकुमारी घर भएका सनम शाक्य चार दिनअघि युएस बंगलाले आयोजना गरेको ‘कस्टुमर सक्सेस समिट’मा भाग लिन बंगलादेश गएका थिए ।

    काठमाडौंमा ट्राभल एजेन्सी सन्चालन गरिरहेका सनमसँगै १४ ओटा ट्राभल एजेन्सीका साथीहरुकोसमेत कार्यक्रममा सहभागिता रहेको थियो ।

    कार्यक्रम सकिसकेपछि उनीहरुसँगै गएका दुईजना साथीहरु अघिल्लो दिन नेपाल फर्किएका थिए । सनमसहित १२ जना भने सोमबार सँगै नेपाल फर्किएका हुन् ।

    बंगलादेशको स्थानीय समयअनुसार मध्याह्न १२ बजेर ३० मिनेट जाँदा उनीहरु जहाज चढेका थिए । बंगलादेशबाट उड्दा जहाजमा कुनै समस्या आएको थिएन ।

    तर, काठमाडौंको आकाशमा आइसकेपछि भने अवतरण गर्नुअघि जहाज केही असन्तुलित भएकोजस्तो उनले महसुस गरेका थिए । जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दुसमेत काटेर गइरहेको उनले देखिरहेका थिए ।

    जहाज असामान्य हुँदै आकाशमा नै रोकिएको थियो र आकाशमा धेरै ट्राफिकका कारण यस्तो भएको होला भनेर यात्रीहरुले सोचिरहेका थिए ।

    त्यसपछि केहीबेरमै जहाजको ह्वात्तै उचाइ घटाएको र सीधै अवतरण गराएको उनले महसुस गरेका थिए । जहाज ल्यान्ड भएपछि कोल्टिएको थियो ।

    असामान्य महसुस गर्दै उनले पछाडि फर्केर हेर्दा धेरै यात्रीहरु थिचिएका थिए र एक किसिमले कोलाहल नै मच्चिइसकेको थियो । हेर्दाहेर्दै जहाजमा आगो लाग्न थाल्यो र धुवाँको मुस्लो फैलियो ।

    अगाडिको सिटमा नै बसेका कारण उनका नजिकै रहेका तीनजना साथीले झ्याल फोडेर बाहिर निस्किए । सनम पनि उनीहरुसँगै बाहिर निस्किए ।

    हाल काठमाडौको नर्भिक अस्पतालमा उपचार गराइरहेका सनमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

    सनमसँगै अस्पतालमा रहेकी उनकी श्रीमती सुमाञ्जली शाक्यले घटनामा परेर श्रीमान् बाँच्न सफल भएकोमा खुसी लागेको तर धेरैको ज्यान गएकोमा भने निकै दुःखी भएको बताइन् ।

    जहाज दुर्घटनामा ४९ जनाको ज्यान गएको छ भने बाँच्न सफल २२ जनाको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij