प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४
प्राधिकरणमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे ।
सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न प्राधिकरणका कार्यकारी निर्देशकलगायत सबै कर्मचारीलाई मन्त्री पुनले निर्देशन दिए ।
उनले भने–‘लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन सकेको छैन । माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अवस्था उस्तै छ । माथिल्लो तामाकोसी आयोजनासमेत लयमा छैन भन्ने सुनेको छु । अब कुनैपनि आयोजना रोकिनुहुँदैन । समयमा सकिनुपर्छ ।’
मन्त्री पुनले ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउन पनि जलविद्युत् क्षेत्रमा विशेष लगानी जरुरी रहेको स्पस्ट पारे ।
पेट्रोलियम पदार्थ आयातमामात्रै वर्षेनि रु एक खर्ब बराबर विदेशिने गरेको तथ्यांक पेस गर्दै उनले नेपाली जनताको चुलोसम्म प्रभाव पर्ने विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पुनले भने–‘वर्षेनि रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थ आयातमात्रै रोक्नसकियो भनेमात्रै पनि व्यापार घाटा कम गर्न सकिन्छ ।’
दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकाले सरकारले यसमा विशेष कार्ययोजनाका साथ लगानी गर्ने र प्राथमिकता दिनेसमेत उनको कथन थियो ।
राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दन्ड दिने प्रणालीको विकास गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको भावना, जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे ।
बत्ती बालेरमात्रै समृद्धि नआउने भएकाले ऊर्जाको विविधीकरण तथा प्रयोगको दायरासमेत बढाउनुपर्नेमा मन्त्री पुनको जोड थियो ।
नेपाललाई समृद्ध र आर्थिकरुपमा सबल बनाउनका लागि महत्वपूर्ण भूमिका ऊर्जा क्षेत्रकै हुने भएकाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ काम गर्ने उनको कथन थियो ।
आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बाध्यता रहेको भन्दै मन्त्री पुनले सबैको सकारात्मक र सार्थक प्रयत्नबाटमात्रै त्यो लक्ष्य हासिल हुने स्पस्ट पारे ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षदेखि पूर्णरुपमा लागू भएको विद्युत्भार कटौतीले सकारात्मक प्रभाव पारेको भन्दै अब व्यवस्थित र विद्युत् विस्तार प्रणालीमा लाग्नुपर्नेमा जोड दिए ।
उनले सरकारी र निजी क्षेत्रको सकारात्मक प्रयासका कारण मुलुकमा सकारात्मक परिणाम आएकाले आगामी दिनमा थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । रासस[divider]
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij