आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्तो बन्दै छ एकीकृत कम्युनिष्ट पार्टीको संरचना

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • काठमाडौं, चैत ११ । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।

    एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।
    ‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।

    पेसागत संगठनका एउटै महासंघ बन्ने

    विधान मस्यौदा कार्यदलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामती कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्तर्गत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।

    त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, किसान महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ ।

    युवा संघ नेपाल र वाइसिएल एकतापछिको नाम भने के राख्ने भन्ने टुंगो छैन ।

    पार्टी एकतालगत्तै जनसंगठन एकीकरण

    एमाले र माओवादीले आगामी ९ वैशाखमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी घोषणा गरेलगत्तै दुवै पार्टीका जनसंगठनहरूको एकता प्रक्रिया अगाडि बढाउने भएका छन् ।

    त्यसका लागि अहिलेकै कार्यदलले नाम र समायोजनबारे भ्रातृ संगठनका नेतृत्वलाई बोलाएर समझदारी जुटाउने योजना छ ।

    भ्रातृ संस्थाहरूको सम्मानजनक एकताका लागि दुवै पार्टीका सम्बन्धित इन्चार्ज रहेको छुट्टाछुट्टै समिति बनाएर प्रक्रिया अगाडि बढाउने तयारी कार्यदलले गरेको छ ।

    यसरी बन्दै छ केन्द्रदेखि जिल्लासम्मको संरचना

    केन्द्रीय कमिटी:३०० देखि ३५०

    एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ ।

    एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।

    यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ ।

    पोलिटब्युरो: १०० नजिक

    एकीकृत पार्टीको पोलिटब्युरोमा भने सयको हाराहारीमा सदस्य रहनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ ।

    स्थायी समिति: ३५ हाराहारी

    स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए । यो पोलिटब्युरोको एकतिहाइ संख्या हो । तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ ।

    प्रदेश र जिल्ला कमिटी जम्बो

    एमालेका प्रदेश संगठन कमिटी ५० देखि १ सय १५ सदस्यसम्मका छन् । माओवादीका कमिटी पनि जम्बो भएकाले एकीकृत कमिटी कम्तीमा दुई सय सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए ।

    जिल्ला कमिटी पनि कम्तीमा डेढ सयदेखि २ सय ५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ ।

    केन्द्रको एकतापछि मात्रै तल्लो तहको

    केन्द्रीय कमिटीको एकतापछि मात्रै प्रदेश र तल्ला तहका कमिटी तथा जनसंगठनहरूको एकता प्रक्रिया सुरु गर्ने कार्यदलमा नेताहरूबीच समझदारी भइसकेको छ ।

    दुई वर्षभित्र सर्वसम्मत नेतृत्व चयन हुने गरी एकता महाधिवेशन गर्ने तयारी छ । -नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij