आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पिपल्स हाइड्रोले चीनबाट ९ अर्ब लगानी भित्र्याउँदै

  • प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४



  • काठमाडौं, चैत ११ । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट रु ९ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ ।

    कम्पनीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु)ले करिब ९ अर्ब रकम खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।

    कुल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत रु १० अर्ब रहेको छ ।

    चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपुँजीमार्फत् लगानी गर्नेछ ।

    चिनियाँ कम्पनीले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपीसीएफ) ढाँचामा निर्माण गर्नेछ ।

    उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कुल ६.६ किलोमिटर लामो सुरुङमार्फत् खिम्ती आयोजनाको बाँधस्थलनजिक निर्माण हुने विद्युत्गृहमा विद्युत् उत्पादन गरिनेछ ।

    आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेसनमा जोडिनेछ ।

    आयोजनाको हाल पहुँचमार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारणलाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिए ।

    नेपालका जलविद्युत् आयोजनामा इपीसीएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो ।

    यसअघि, बूढीगन्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैंले निर्माण गर्ने निर्णय गरिसकेको छ ।

    पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी वैशाखदेखि आयोजनाको निर्माण सुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण सुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गर्नेछ ।

    सुरुमा सहकारीको ढाँचामा आयोजना निर्माण गर्न खोजिएपनि सहकारी कम्पनी रजिस्ट्रार कार्यालयमासमेत दर्ता नहुने र धितोपत्रको कारोबारसमेत नहुने भएपछि कम्पनी बनाइएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष आचार्यले बताए ।

    नेपालको जलविद्युत् आयोजना निर्माणमा नयाँ खालको ढोका खुलेको जानकारी दिँदै उनले अरु आयोजनासमेत आगामी दिनमा यही ढाँचामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भएको थियो । सानिमा बैंकको नेतृत्वमा अन्य ९ ओटा बैंकले आयोजनामा लगानी गर्ने सहमति गरेका थिए ।

    तर, बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ ।

    आयोजना सम्पन्न भएपछिमात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ ।

    आयोजनाबाट हिउँदमा ४० गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षाकालमा २२३ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ ।

    प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ ।

    सो कम्पनीले यसअघि रुदी ए ८.८ मेगावाट र रुदी बी ६.६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij