प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४
रोल्पामा दुई बालबालिकाको हत्या भएको छ।
त्रिवेणी गाउँपालिका वडा नं. २ डाफ्लामा ५ वर्षीय प्रेम विक र उनकी ३ वर्षीया बहिनी बसन्ती विकको हत्या भएको हो।
उनीहरूको हत्या बञ्चोर प्रहारबाट भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। आफ्नै काका नाता पर्ने २१ वर्षीय खड्कबहादुर विकले दाजु गणेश विकका छोरी र छोरीलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।
‘मदिराले मातेको खड्कबहादुर विकले आवेशमा आएर बञ्चरो प्रहार गरेर दाजु बहिनीको हत्या गरेको खुल्न आएको छ।’ डिएसपी फुँयालले फोनमा सेतोपाटीलाई भने।
बञ्चरो प्रहारबाट दाजु बहिनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। दाजुसँगको सामान्य विवादपछि त्यसको रिस बच्चाबच्ची माथि पोखेको देखिन आएको प्रहरीले बताएको छ। यसैबीच हत्या अभियुक्त खड्कबहादुर विकको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
दुई बालबालिकाको हत्यापछि खड्कबहादुर विक भने फरार भएका थिए। हत्यापछि त्रिवेणी गाउँपालिका वडा नं. २ डाफ्ला निवासी विक भाग्दै गर्दा सदरमुकाम होलेरी नजिकको भाँगोवारी भन्ने स्थानमा पक्राउ परेको रोल्पाका प्रहरी प्रवक्ता सुदर्शन पन्थीले जानकारी दिए।
खड्कबहादुर विकले सोमबार बेलुका पौंने ५ बजेतिर दुई बालबालिकालाई बञ्चरो प्रहार गरी हत्या गरे लगत्तै फरार भएको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij