बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४



  • नुवाकोट, चैत २५ । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

    पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ ।

    गएराति बा५ख २५२३ नम्बरको मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो ।

    सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौंबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन् ।

    चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्‍याइदिएका छन् ।

    शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij