बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ढाकाबाट नेपाल आइपुगे यात्रीबाहक बस

  • प्रकाशित मिति : बुधबार, बैशाख १२, २०७५



  • काँकडभिट्टा, वैशाख १२ । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सन्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रीबाहक बस बुधबार नेपाल प्रवेश गरेका छन् ।

    बंगलादेशको श्यामोली परिवहनका दुईओटा बस बुधबार मध्याह्न काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

    ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबारै बिहान बंगलाबन्ध–फूलबारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् ।

    मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गरेका थिए ।

    चार देशबीच सीधा यातायात सेवा सन्चालन गर्नेसम्बन्धी हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्री बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् ।

    बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ ।

    टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले गरेका छन् ।

    यसैगरी, भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गरेका छन् ।

    ढाकाबाट बस चढेर आएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो ।

    काँकडभिट्टामा केहीबेर अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौंतर्फ प्रस्थान गरेको छ ।

    बुधबार साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij