बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

  • प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०७५



  • चितवन, बैशाख १३ । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ ।

    केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए ।

    अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए ।

    उनले सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए ।

    गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पुर्‍याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउँछन् ।

    कोषका पशु चिकित्सक डा अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे ।

    छिमेकी मुलुक चीनलाई दुईजोडी गैँडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ ।

    एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ ।

    सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij