बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम घटाउन धमाधम काम हुँदै

  • प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५



  • चितवन, वैशाख १७ । छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ ।

    अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुङ्गा र ढिस्को झर्ने अवस्थामा रहेका छन् । गतवर्षको वर्षामा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो ।

    यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा पहिरो खसेपछि आधा घण्टा सडक आवागमन रोकिएको थियो ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिलो चरणमा लुज मेटेरियल (झर्न लागेका ढुङ्गा, ढिस्को र माटो) झार्ने काम भइरहेको छ । अहिले दिनको समयमा सडक बन्द हुने भएकाले लुज मेटेरियल झार्ने कामलाई तीव्रता दिइएको छ ।

    मुग्लिन नजिकै, केराबारी र चोर खोलामा झर्न लागेका ढुङ्गा, ढिस्को र माटो झार्ने काम भइरहेको छ । भित्तो कटिएका ठाउँमा मानिसले रड, गललगायतका सहाराले झर्न लागेका ढुङ्गा, ढिस्को, माटोलगायत झार्ने काम भइरहेको उनले बताए ।

    यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदै छन् ।

    खनालका अनुसार सडकलाई दुई भागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको छ ।

    नारायणगढबाट जलबिरेसम्म एउटा प्याकेज र त्यस उता मुग्लिनसम्म अर्को प्याकेज गरी ठेक्का दिइएको उनले बताए ।

    खनालका अनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । तीमध्ये अति नै संवेदनशील रहेका ६ ठाउँमा शुरुमा काम गरिने उनले बताए ।

    कालीखोलाको वारिपारि गरेर तीन ठाउँ, चार किलो, मुग्लिनको मुख र सेतीदोभानमा बढी संवेदनशील देखिएको छ ।

    पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षात्अघि नै काम सक्ने गरी काम थालिएको हो । परामर्शदाता कम्पनीले भित्तो काटिएका ठाउँको डिजाइन गरेर पठाएपछि सडक विभागले ती ठाउँमा पहिरो रोक्नका लागि काम गर्न ठेक्का दिएको हो ।

    सडकको कूल लम्बाइ ३३.२ किलोमिटरमध्ये ३०.३ किलोमिटर पहिलो तह कालोपत्रे भइसकेको छ । लागत मूल्य बढेपछिको मूल्याङ्कनमा सडकको ८० प्रतिशत काम सम्पन्न भएको छ । सडक बने पनि पहिरो खसेमा वर्षात्मा यात्रुले दुःख पाउन सक्ने भएकाले पहिरो रोक्ने कामलाई उच्च प्राथमिकता दिइएको आयोजनाले जनाएको छ ।

    हाल ३५ जनाभन्दा बढीले काम गरिरहेको भन्दै उनले जनशक्ति थप गरी कामलाई गति दिइने बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij