बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

छिमेकीको गोठमा मृत फेला परिन् उर्मिला, गर्भवती धनसराको शव झुण्डिएको अवस्थामा फेला

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • अछाम, वैशाख १९ । अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो ।

    पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव उनकै छिमेकीको गोठमा भेटिएको छ ।

    आईतबार घरबाट आफन्तको घरमा जाने भनेर निस्किएकी उर्मिला छिमेकी कै गोठमा मृत फेला परेकी हुन् । आफन्तको घरमा नपुगेको खबरपछि उनको खोजी गर्दा शव भेटिएको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

    प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्न प्रयोग गरिने बिष फेला परेको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    त्यस्तै, तुर्माखाद गाउँपालिका–३ भैरवस्थानमा २३ वर्षीया धनसरा नेपालीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

    मंगलबार विहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झुण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरीसमेत छिन् ।

    प्रहरीले दुवै महिलाको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन ल्याएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij