प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५
बनेपा – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ ।

तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, भेडेखुर्सानी आदि तरकारीको बोट बिहीबार अपराह्न ठूलो मात्रामा परेको असिनापानीले नष्ट पारेपछि किसान चिन्तित बनेका छन् ।
टापुका किसान गोमा सापकोटाले बारीमा लगाइएको तरकारी असिनापानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाइ खेर गएको बताए । “अर्काको बारीमा भाडा तिरेर लगाएको तरकारी खेती पनि सबै नष्ट पारिदियो, अब कसरी छोराछोरीको पढाइ खर्च र घर खर्च चलाउने हो ?” दुखेसो पोख्दै सापकोटाले भने । खेतीबाट नै जीवन धान्न सजिलो भएकाले सबैथोक त्यसैलाई नै ठानेर खेती कमाइबाट जीवन गुजार्दै आएका उनलाई यस वर्ष अब कसरी परिवार धान्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले पाँच वर्ष अगाडिदेखि १० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।
एक हजार १२७ घरधुरी रहेको सो क्षेत्रका करीब ९० प्रतिशत बासिन्दा खेतीपातीबाटै गुजारा गर्दै आएका छन् । त्यहाँका किसानले फलाएको तरकारी कालीमाटीमा बिक्री हुँदै आएको छ । राष्ट्रिय समाचार समिति
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij