बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नारायणगढ–मुग्लिन सडकखन्डको पुनः मिति थपको माग

  • प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५



  • चितवन, वैशाख ३१ । नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् ।

    चौथोपटकको मिति थपअनुसार पहिलो खन्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खन्डको ६ दिन र तेस्रो खन्डको १६ दिन बाँकी रहेको छ ।

    यसअघि, मिति थप हुँदा दोस्रो खन्डका लागि २० मे २०१८ र तेस्रो खन्डका लागि ३० मे २०१८ सम्मको समय दिइएको थियो ।

    सो आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीकाअनुसार हालसम्म समग्रमा ८६.३८ प्रतिशत काम सम्पन्न भएको छ ।

    पहिलो खन्डको ८३.३ प्रतिशत, दोस्रो खन्डको ९५.७३ प्रतिशत र तेस्रो खन्डको ८०.१३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

    सो सडकको पहिलो खन्डको कालोपत्रे ४०० मिटर बाँकी छ भने दोस्रो खन्डको कालोपत्रेको पहिलो तह सम्पन्न भइसकेको छ । तेस्रो खन्डको एक हजार ८०० मिटर कालोपत्रे गर्न बाँकी रहेको रेग्मीले बताए ।

    पहिलो खन्डको बीएलए–श्रेष्ठ जेभीले थप ४०० दिन समय माग गरेको छ । समय सकिनु एक साताअघि थप मिति चाहिएमा माग गर्नुपर्ने हुन्छ ।

    दोस्रो खन्डको उड हिल–लामा जेभीले थप ४० दिन अर्थात् जुन मसान्तसम्मको समय माग गरेको छ ।

    तेस्रो खन्डको सुप्रिम–रौताहा जेभीले मिति थप मागिसकेको छैन । सो खन्डको मिति ३० मेमा सम्पन्न हुँदैछ ।

    पहिलो र दोस्रोले थपिएको समयमा पनि पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागेअनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाएको रेग्मीले बताए ।

    उनकाअनुसार यही गतिमा काम भएमा जुन अन्त्यसम्ममा सडक सुरक्षाबाहेकका काम सकिने देखिएको छ । सडक सुरक्षाका लागि बढीमा १५ दिन समय लाग्ने उनले बताए ।

    यद्यपि, उनीहरुले कति समय थप पाउँछन्, सम्झौतामा उल्लेख भएअनुसार सिफारिस गरिने उनले बताए ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालले चौथोपटकको मिति सम्पन्न भएको भन्दै सम्झौताअनुरुप के–कति समय थप पाउने वा नपाउने परामर्शदाता कम्पनीबाट आएपछि भन्न सकिने बताए ।

    सम्झौताभन्दा बढी समय उनीहरुले नपाउने बताउँदै उनले पछिल्लो समय कामले भने गति लिएको बताए ।

    सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्नेगरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij