आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीले कांग्रेस नेता मिनेन्द्र रिजाललाई भने : ९ गते दाँतमा धार लगाएर आउनुहोला

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ७, २०७५



  • सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई मर्यादीत सम्बोधन नगरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।

    राष्ट्रपतिले ‘प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष  संघीय  सांसदहरु’ भनेर सम्बोधन गरेकी थिइन्। उनको सम्बोधनमा सम्माननीय सभामुख र अध्यक्ष महोदय भन्ने शब्द नपरेको भन्दै रिजालले प्रधानमन्त्रीसँग प्रश्न  गरेका हुन्।

    सरकारले नै लेखेको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरेकोले सम्बोधन मर्यादित नभएको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने कुरा आफुले प्रधानमन्त्री ओलीसँग राखेको रिजालले बताए।

    ‘जनताले प्रत्यक्ष चुनेर पठाएका प्रतिनिधिहरु रहेको संसदलाई कसरी मर्यादीत सम्बोधन गर्ने भन्ने आफ्नै परम्परा छन्,’ उनले भने, ‘सर्वोच्च संसदको नेतृत्व गर्ने सभामुखलाई सम्माननीय भनेर मर्यादापूर्वक सम्बोधन गरिन्छ। कम्तिमा महोदय भनिन्छ। यसअघिका राष्ट्रप्रमुखहरुले यसअघिको सरकार छँदा स्वयं विद्या भण्डारीले नै त्यो मर्यादा राख्दै सम्बोधन गर्नु भएको थियो।’

    राजतन्त्र फालेर गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखले संसदलाई गरेको सम्बोधनमा प्रश्न उठेको यो पहिलो पटक हो। सभामुखलाई उचित तरिकाले सम्बोधन नगर्नु भनेको संसदलाई उचित तरिकाले सम्बोधन नगर्नु हो भन्ने तर्क रिजालको छ।

    ‘सम्माननीय सभामुख महोदय’ र ‘अध्यक्ष महोदय’ भनेर सम्बोधन गर्ने  भन्ने परम्परा रहेको कुरा प्रधानमन्त्रीलाई उनले सम्झाएका थिए।

    राष्ट्रपतिले  नीति तथा कार्यक्रम प्रस्तुत गरेर सकेपछी प्रधानमन्त्री ओली सहितका नेताहरु बसेको ठाउँमा पुगेर रिजालले सम्बोधनबारे प्रश्न उठाएका थिए। प्रधानमन्त्री ओलीको नजिकै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अरु नेताहरु पम्फा भुसाल, देव गुरुङ्, गृहमन्त्री रामबहादुर थापा बादल थिए।

    ‘गणतन्त्र भनेको सार्वभौम जनताले चुनेको संसदलाई मर्यादीत बनाउने त्यसको सम्मान गर्ने हो। गणतन्त्र आउनेबित्तिकै रामवरण यादवले पनि संसदलाई सम्बोधन गर्दा त्यो मर्यादा राख्नु भएको थियो, अहिले सम्माननीय र महोदय भन्ने शब्द कसरी हटाउनुभयो?’ रिजालले प्रधानमन्त्री ओलीसँग सोधेका थिए।

    ‘हैन पहिले पनि यस्तै हो,’ प्रधानमन्त्री ओलीले दिए।

    ‘पहिला थिएन राजाका पालामा मात्रै यस्तो खालको सम्बोधन थियो। राजाले सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भनेर मात्र सम्बोधन गर्थे। अहिले राष्ट्रपतिको बडप्पन देखियो। सम्बोधन संसदको गरिमासँग जोडिएको विषय हो,’ मिनेन्द्र रिजालले ओलीलाई जवाफ दिए।

    यो सवालजवाफ सुनेका एक नेताले बताए अनुसार मिनेन्द्रको जिकिरमा नेकपाका अध्यक्ष दाहालले चासो राखेका थिए।

    ‘ए त्यसो हो भने त भएन नि !’ दाहालले प्रतिकृया दिए।

    यत्तिकैमा ओलीले रिजाललाई भने ‘त्यसो भए ९ गते दाँतमा धार लाएर आउनुहोला नि!’

    ९ गतेदेखि नीति तथा कार्यक्रममाथि संसदमा  छलफल हुन्छ। ओलीले रिजाललाई त्यहिबेला कुरा उठाउन भनेका हुन्।

    ‘दाँतमा किन धार लगाएर आउने म भोली नै संसोधन हाल्छु नि,’ रिजाललाई उद्धृत गर्दै ती नेताले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij