आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, ३६ करोड राजश्व संकलन

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • काठमाडौं, जेठ १२ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।

    वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।

    यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ ।

    यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।

    त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्नसक्ने पर्यटन विभागको भनाइ छ ।

    विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ ।

    सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

    यसैगरी, कन्चनजंघाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरिबाट रु ६३ लाख ६३ हजार ९०, आमादब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।

    यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रित भएका थिए ।

    सगरमाथा आरोहणको रोयल्टीसमेत फरक ऋतुमा फरक–फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ ।

    यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ ।

    यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

    वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाँग्न पुगेका ८ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

    संसारभर छाए कामीरिता
    आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका थिए । उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् ।

    यस्तै, पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरेका छन् । सन् २००४ मा पेम्बाले ८ घन्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

    पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

    २२ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाकाबारेमा अन्तर्राष्ट्रिय सन्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत् गरेका छन् ।

    यसअघि, कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो ।

    सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सन्चारमाध्यमको ध्यान उनीतर्फ केन्द्रित भएको हो ।

    बेलायतको प्रसिद्ध ‘गार्डियन’को अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ ।

    सो पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ–‘कामीरिताले २५ पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।’

    २४ वर्षको उमेरमा सगरमाथा आरोहण सुरु गरेका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन् ।

    यसैगरी, भारतको ‘हिन्दूस्तान टाइम्स’, बेलायतको अर्को ‘मिरर’को अनलाइन संस्करणले पनि कामीरिता र लाक्पाको कीर्तिमानको महत्वका साथ चर्चा गर्दै समाचार सामग्री प्रस्तुत् गरेका छन् ।

    यसैगरी, अमेरिकाको ‘एबिसी न्यूज’, ‘वासिङ्टन टाइम्स’, ‘सिकागो सन् टाइम्स’, पाकिस्तानको ‘पाकिस्तान टुडे’, क्यानडाको ‘द स्टार’लगायत विश्वप्रसिद्ध सन्चारमाध्यमले सर्वोच्च शिखरको आरोहणको समाचारलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

    सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सर्वोच्च शिखरको आरोहण गरेका थिए ।

    सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब ८ हजारले सगरमाथाको शिखर चुमेका छन् ।

    यस्तै, आरोहणकाक्रममा २८६ जनाको ज्यान गएको छ ।

    अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

    सन् २०१६ मा ३८ ओटा समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । गत वर्षमाभन्दा यस वर्ष आरोहण सहज देखिएको छ ।

    विगतमाभन्दा कम क्षति
    यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणकाक्रममा तीनजनाको मृत्यु भएको छ । यस्तै, हिमपहिरोमा परी एकजना बेपत्ता भएका छन् ।

    खुम्बु फर्कनेक्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ ।

    खुम्बु–पासाङल्हामु गाउँपालिका–१ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीकाअनुसार आधारशिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते भएकी शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका–५ स्थित माउन्टेन मेडिकलमा लगिएको र उपचारकाक्रममा उनको मृत्यु भएको थियो ।

    शेर्पा हिमालयन एसोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएकी थिइन् ।

    यसअघि, सगरमाथा आरोहणकैक्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर ३ पुगेर फर्कनेक्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षमाभन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ ।

    सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो ।

    यस्तै, सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए ।

    यस आधारमा हेर्दा यसपटकको आरोहणमा कममात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।

    नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्षभन्दा यसपटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षतिसमेत कम भएको बताउँछन् ।

    आरोहणकाक्रममा बढी सर्तकर्ता अपनाइएको, तालिमप्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूर्ण आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ ।

    आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij