प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन्।
आज बाग्लुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए।
पौडेलले बृहत् ध्रुवीकरणमार्फत् एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे।
नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औँल्याए। फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो।
‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ’, उनले भने। नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताए।
धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उनले नेपाली कांग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए।
‘हामी कम्युनिष्टहरू समेट्दै जान्छौं, नेपाली कांग्रेसले पनि नजिकका दलहरूलाई एकतामा ल्याओस्’, उनले भने।
मधेशका मुद्दा सम्बोधन गर्न र राष्ट्रिय एकतालाई सुदृढ पार्न फोरमलाई सरकारमा ल्याइएको उनको भनाइ छ ।
ससंद्मा अंक पुर्याउनभन्दा पनि राजनीतिक स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएका हौं’, उनले भने।
फोरम आएसँगै संसद्मा सरकार झन बलियो भएको पौडेलले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij