प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बजेटमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम नभएकोमा आपत्ति जनाएकी छिन्।
संसदमा बजेट माथिको छलफलको क्रममा उनले इतिहास बोकेको नेताहरुको सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। मदन भण्डारी र पुष्पलालको नाम राख्नु जायज भएको उल्लेख गर्दै उनले गिरिजाप्रसाद कोइरालाको नाम नराखिएकोमा प्रश्न गरिन्।
‘गिरिजाबाबुको नाम समेत छैन। कँही अत्तोपत्तो पनि छैन। किन यस्तो भएको हो। मैले बुझ्न सकिनँ’, कोइरालाले भनिन्, ‘यसले सहमति गरेर जाने, सहकार्य गरेर जाने तपाईँहरूको उद्देश्य छैन भन्ने स्पष्ट पार्छ।’
उनले गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा बन्ने अस्पताललाई बजेट समेट्न माग गरिन्।
‘मदन भण्डारीको नाममा त्यत्रो बजेट छ। पुष्पलाललाई हामी पनि मान्छौँ। उहाँको नाममा प्रतिष्ठान बनाएकोमा वेलकम छ’, सुजाताले भनिन्, ‘तर सात सालको क्रान्तिदेखि परिवर्तनमा ठूलो भूमीका, इतिहास बोकेको नेताको सम्बोधन गरिएको छैन। कँही उल्लेख गरेको छैन।’
उनले गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल बनाउन भारतले प्रतिबद्धता जनाइसकेकाले बजेटमा समेट्न माग गरिन्।
‘शेरबहादुर देउवा सरकारले भारतबाट अगाडि बढाउने भन्नुभएको थियो। भारतले प्रतिबद्धता जनाएको थियो’, कोइरालाले भनिन्, ‘यो अस्पताल बजेटमा कँही उल्लेख छैन। अर्थमन्त्रीले यो अस्पताललाई ध्यान दिनुपर्छ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij