आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाटपुर्जा फेरेको मेसिन जस्तो भएर बाँचेको छु : प्रधानमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०७५



  • ‘म आज पनि रातको दुई बजे सुतेको। अस्ति पनि दुई बजे सुतेको। हिजो पनि दुई बजे नै सुतेको’।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफ्नो सुत्ने समय प्रदेश ३ को संसद बैठकमा सुनाए। संसदलाई सम्बोधन गर्न हेटौँडा पुगेका ओलीले आफू दैनिक आजकाल ४ घण्टा मात्र सुत्ने गरेको उल्लेख गरे।

    ‘म अहिले १८/२० घण्टा किन काम गरिरहेको छु’, ओलीले प्रदेश सभा बैठकमा भने, ‘ देश बनाउने उद्देश्यका लागि मात्रै, मैले यो मर्दा मर्दा बचेको जिन्दगीलाई आरामसँग बित्न दिए पनि हुन्थ्यो। मैले २० घण्टा काम गर्नु पर्दैन। मैले अलिकती बढी मिहिनेत साथ काम गरेको छु’।

    ओलीले भावुक भएर संसद बैठकमा आफ्नो स्वास्थ्य अवस्था समेत खुलाउन भ्याए।

    ‘म त बिरामी भएर चारपटक पेट चिरेर पाटपुर्जा फेरेको मेसिन जस्तो भएर बाँचेको छु’, ओलीले भने, ‘किड्नी ट्रान्सप्लान्ट गरेको एघार बर्ष भयो। भूतपूर्व प्रधानमन्त्री भैसकेको थिएँ। फोटो टाँसिएको थियो।’

    दुई घण्टा प्रदेश सभाको बैठकलाई सम्बोधन गरेका ओलीले आफूले देश विकासका लागि मिहेनत गरिरहेको सांसदहरुलाई बताए।

    प्रदेशको राजधानी सहमतिमा टुङ्गो लगाउन आग्रह गर्दै ओलीले हेटौँडा राजधानी भएर विकास भए अन्य स्थान राजधानी नभएरै पनि विकास हुने दावी गरे।

    संसद बैठकमा ओलीले आफूलाई दम्भी भन्नेहरुलाई जवाफ फर्काए।

    ‘कतिपयले दम्भी भयो। दम्भ होला। आदि इत्यादी भन्छन्’, ओलीले भने, ‘म गाइ भैँसी चराएर हुर्केको गाउँको केटो। दम्भी हुनुपर्ने कारण के, म गाँइ भैँसी चराएर आएको मान्छे। डाले घाँस काट्न पनि आउँछ। भुँइ घाँस काट्न पनि आउँछ’।

    राजाले नेल हतकडी लगाएर गोलघर(जेल) हालिदिएको व्यक्तिलाई जनताले प्रधानमन्त्री बनाइदिएको भन्दै उनले खुसी व्यक्त गरे।

    अनि पुन: आफू साधारण मान्छे भएको अर्थ्याउन तिर लागे।

    ‘मलाइ भाँडा माझ्न मज्जाले आउँछ। साथीहरुले सुन्दा अनौठो लाग्ला सिलौटोमा मसला पिन्न सजिलो छैन। लोरो समाउने बित्तिकै लोरो सिलौटाले चिन्छ, यो लोरो समाउने मान्छे हो कि होइन। होइन, भन्ने बित्तिकै मसला सिलौटामा बस्दै बस्दैन, बाहिर जान्छ। यस्ता काम पनि मैले सिकेको छु’।

    संसद बैठकमा प्रधानमन्त्री ओली यहिँ रोकिएनन्। उनले आफूलाई साधारण भएको अर्थ्याउन तिर थप बल गरे।

    ‘लिप्ने, पोत्ने देखि बढार्ने मलाइ आउँछ’, ओलीले भने, ‘मैले हवाइ जवाज उडाउन पाइलटिङ पढिन। ड्राइभिङ सम्म गर्छु’।

    कहिलेकाँही आफूले आन्दोनलका लागि आगो बालेको उल्लेख गर्दै ओलीले भाँडा मस्काउने देखि चुल्हो बाल्नेसम्मको काम गरेको उल्लेख गरे।

    ‘देश चलाउने जिम्मा मलाइ जनताले दिएको छ। मैले भन्ने गरेको छु। यो भाउँतो जिन्दगीमा केही लिनु छैन। निस्पृय। मैले जे सक्छु देशका लागि गर्छु। मलाइ केही लिनु नै छैन।’

    ‘एकदम दम्भी होला कि’ भन्ने प्रश्न छ। ओलीले भने ‘होइन।’

    यद्यपी उनले आफ्नो जेलमा हँदाको स्वभाव भने कडा रहने गरेको बताए।

    ‘जेलमा हुँदा अलिक नरम भाषा हुदैँन थियो मेरो। अलिक रफरफ कडाकडा खालको हुन्थ्यो’, ओलीले आफ्नो विगत सम्झँदै भने, ‘दबाउन खोज्छ कि, नरम बोल्यो भने हेपिएको ठान्छ कि। मैले जेल बस्न मानेको छु, स्वीकारेछु भन्ने बुझ्छ कि। त्यसकारण अलिक अररो अररो बोल्थेँ।‘

    उनले त्तकालिन प्रशासकहरुले समेत आफूलाई नेल हतकडी लगाएर बस्दा समेत ठूलो कुरा गर्छ भनेर टिप्पणी गर्ने गरेको उल्लेख गरे।

    ‘अररो छ। मुर्ख छ भन्थे। मुर्खता अलि अलि होला सायद’, ओलीले भने, ‘म अहिले संघीय सरकारको नेतृवमा छु। सरकार दम्भ देखाउन, शासक हुँ भन्ने ठान्न, होइन। देशमा परिवर्तन ल्याउन समर्पित छु’।

    उनले सरकार अहिले लोकतन्त्र सुदृढ बनाउन र वास्तविक अर्थमा कार्यन्वायन गर्न समर्पित रहेको बताए।

    उनले आफुलाई तानाशाहीको आशंका नगर्न समेत सुझाए।

    ‘हामी गोलघर बस्दा भूमिगत बस्दा तानाशाही ल्याउनका लागि होइन लोकतन्त्रका लागि बसेको मान्छे’, ओलीले भने, ‘स्वार्थका लागि मर्न तयार भएको होइन। स्वार्थ पुरा गर्नुपर्ने भए बाँच्ने बाटोतिर लागिन्थ्यो होला। हामी आदर्शको बाटो लाग्यौँ’।

    ओलीले आफैँले लडेर ल्याएको लोकतन्त्र मास्छ भन्ने आरोप गलत भएको जिकिर गरे।

    ‘लोकतन्त्र हामीलाई कसैले उपहार दिएको विषय होइन। अरुले ल्याइदिएको स्वीकारेको होइन। हामीले लडेर ल्याएको हो’।

    प्रदेश ३ को संसद बैठकमा ओलीले महाभारतमा गुरु द्रोणाचार्यले शिष्य अर्जुनलाई धनु विद्या सिकाउँदा ‘के देख्यौ’ भन्ने प्रश्नमा अर्जुनले ‘चराको आँखा’ भनेको प्रसङ्ग समेत आफ्नो कामका लागि जोड्न भ्याए।

    ‘हाम्रो ध्यान समृद्ध नेपाल सुखी नेपालीमा छ’, ओलीले आफ्नो अर्जुनदृष्टि  उल्लेख गरे। साथै सरकारले भ्रष्ट्राचारलाई देखि नसहने समेत दावी गरे।

    ‘आफु पनि गर्दिन अरुलाइ पनि गर्न दिन्न’, ओलीले भने, ‘करप्ट भयो कि गयो। नो कम्परप्राइज।‘

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij