आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्पतालले १४ घन्टा पहिल्यै मृत घोषणा गरेकी महिला बचाउन वैद्यको रातभर उपचार!

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५



  • ३७ बर्षीया दुर्गा लामिछानेलाई चिकित्सकले बिहीबार बिहान ९ बजे मृत घोषणा गरिसकेका थिए। दाङको तुलसीपुर उपमहानगपालिका वडा नं. ११ प्रि-गाँउस्थित माईती घरमा बसेर स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी लामिछानेलाई घरको पिँढीमै विषालु सर्पले बिहान साढे ७ बजे डसेको थियो।

    मृतक दुर्गाका भाइ लोकराज लामिछानेले सर्पले डसेको थाहा पाउने वित्तिकै दिदीलाई मोटरसाईकलमा दौडाएर तुलसीपुर १२ जसपुरमा एक जना व्यक्तिबाट विष चुसाउन लगे।

    एम्बुलेन्स नआउन्जेल विष चुसे पनि बिरामीको अवस्था झनै गम्भीर भएकाले दिदीको उपचारको लागि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पाल पुर्‍याए। तर, अस्पताल पुर्‍याए लगतै चिकित्सकले दुर्गा लामिछानेलाई मृत घोषणा गरे।

    जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवम् डिएसपी रामप्रशाद घर्तीले सबै सञ्चारमाध्यमलाई त्यही खबर दिए।

    एकै छिनमा त्यो खबर सबै तिर फैलियो। खबर सार्वजनिक भए लगतै दुर्गालाई आफन्तले सामाजिक सञ्जालमा श्रद्धाञ्जली  व्यक्त गरिसकेका थिए।

    तर झारफुक गर्ने वैद्य तथा गुरू (कथित सपेरा) भनाउँदाले अस्पतालले मृत्यु घोषणा गरेका व्यक्तिमा अझै प्राण छ भन्ने दाबी गरे। सर्पले टोकेका व्यक्तिलाई अस्पतालले मृत घोषणा गरे पनि २४ घन्टासम्म बचाउन सकिन्छ भन्ने जिकिर गरे।

    त्यही विश्वासमा दुर्गाका पति र भाइ तथा आफन्त परे। सकभर को आफन्तलाई लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा आफन्त गुमाउने चाहना हुन्छ र?

    त्यही विश्वासमा परेर दुर्गाका पति र आफन्त तथा उनका भाइ लोकराजले बिहीबार बिहान ९ बजेअघि नै अस्पतालले मृत्यु भइसकेको पुष्टि गरिएकी दुर्गाको उपचारको लागि भन्दै अन्तिम संस्कार गर्न तर्फ नलगी ‘मुर्दा’ (मरेको व्यक्ति) लाई थप उपचार गर्ने भन्दै छिमेकी जिल्ला कपिलवस्तुसम्म पुर्‍याए। त्यो सबै कथित वैद्य वा गुरूवा भन्नेकै सल्लाह थियो।

    दुर्गाका आफन्तलाई दाङको भालुवाङ तथा कपिलबस्तुसम्म पुर्‍याउँदा झारफुकमार्फत बचाउन सकिन्छ भन्ने विश्वास दिलाइएको थियो। त्यही विश्वासमा परेर आफन्तले दुर्गाको शवलाई घोराहीदेखि झन्डै एक डेससय किलोमिटर टाढा कपिलबस्तु जिल्लासम्म पुर्‍याए।  तर, त्यहाँ वैद्य र गुरुवाहरुले भनेझैं झारफुक गर्ने मानिस भेटिएनन्। अन्त्यमा उनीहरुले मृतकलाई कपिलबस्तुको नेपाली सेनाको गणमा लगेर उपचार गराउन प्रयास गरे।

    त्यहाँ पनि नेपाली सेनाका चिकित्सकले दुर्गाको पहिले नै मृत्यु भइसकेको पुष्टि गर्दै फर्काइदिए।

    सर्पदंशबाट ज्यान गुमाएकी दुर्गाको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ जमुनीमा पर्छ। दुर्गालाई त्यहाँ ल्याइपुर्‍याउँदा बिहीबार दिउँसो झन्डै पौने चार जति बजेको थियो। तर, फेरि स्थानीय केही झारफुके वैद्य र गुरूवा भनाउँदाले दुर्गाको अन्तिम संस्कार गर्न रोक लगाए।

    अन्तिम संस्कारको लागि तुलसीपुर १६ स्थित कालोखोला किनारमै दुर्गाको शव लगिए पनि त्यही उपचार गरेर बचाउँछौं भन्ने दाबी गरे।

    परिवारजन तथा आफन्तले पनि त्यो दाबीलाई नकार्न सकेनन्। त्यसपछि जिल्लाका विभिन्न स्थानबाट नामुद भनिएका वैद्य, धामी, गुरूवाको जमघट खोलामै भयो। ठाउँ ठाउँबाट उनीहरूलाई त्यहाँ जम्मा गराइयो।

    उनीहरूले बचाउने भन्दै उपचारका अनेक शैली अपनाइरहेका थिए। संवाददाता रातको करिब ११ बजे कालोखोला किनारमा पुग्दा त्यहाँ कसैले उनको मुखबाट जडिबुटी भन्दै औषधी खुवाउँदै थिए। कसैले खुट्टा देक्चीमा पानी भरेर टोकेको स्थानमा डुवाउँदै थिए। कसैले टोकेको ठाउँमा पत्तिले चिरेर रगत (विष) चुस्नुपर्छ भन्दै मुखले विष चुस्न आवश्यक पर्ने रक्सी मगाउँदै थिए।

    झन्डै १४ घन्टा अगाडि चिकित्सकले मृत घोषणा गरिएकी दुर्गाको शव भने शान्त, स्थिर अवस्थामा विना कुनै प्रतिक्रिया लम्पसार देखिन्थ्यो। कालोखोलाको किनारमा निष्पट अध्याँरोमा हरिया बाँसको खटमा सुताइएको एउटा ‘मुर्दा’ लाई बचाउने तथा जीवन दान दिन्छौं भन्नेलाई देख्दा आधुनिक  विज्ञानमाथि नै धावा बोलेको प्रतित हुन्थ्यो।

    मुर्दाको उपचार हुँदैछ भन्ने सुनेपछि कालोखोलाको किनारमा रातिनै त्यहाँ पुग्ने मानिसको संख्या ठूलो थियो। व्यर्थैको उपचार प्रयास भइरहँदा कतिपयले बेकारको प्रयास नगर्न सुझाए पनि त्यो रोकिएन।

    मृतक दुर्गा लामिछानेलाई जीवत तुल्याउन व्यर्थैको भ्रम युक्त प्रयास सफल हुनै कुरै थिएन। अन्ततः उनको शुक्रबार बिहान तुलसीपुर १६ स्थित कालोखोला किनारमा अन्तिम संस्कार गरिएको भाइ लोकराज लामिछानेले जानकारी दिए।

    १४ घन्टा पहिलै अस्पताले मृत घोषणा गरिएकी महिलालाई बचाउन भन्दै कालोखोला किनारमा व्यर्थैको उपचार प्रयास गरिरहेका कथित वैद्यहरु।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij