बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

  • प्रकाशित मिति : बुधबार, असार ६, २०७५



  • रुकुम, ६ असार (रासस) ः रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ ।

    जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो ।

    बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका सदस्य एवं दलित अगुवा मनबहादुर बादीले बताउनुभयो ।

    यसका साथै गैरदलित र दलितबीच पनि वैवाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआँगनमा पनि आवतजावत हुने गरेको सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको उहाँको भनाइ छ । मंगलबार कर्णली प्रदेशका सामाजिक विकासमन्त्री दल रावतले कर्णाली प्रदेशको पहिलो छुवाछूत तथा सद्भाव युक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

    घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले यसबाट अब कर्णाली प्रदेशमा अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने र जातकै नाममा हुने विभेद्को अन्त्य गर्नुपर्ने बताउनुभयो । समाजमा रहेका यस्ता कुसंस्कारलाई अन्त्य गर्नका लागि सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता रहेको घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य रातो कामी, सीता नेपाली, गोपाल शर्मा, देवी ओलीको पनि सहभागिता रहेको थियो ।

    यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति, रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, उपप्रमुख इन्दिरा बिएम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij