आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विकट सिम्कोशमा बन्यो झोलुंगे पुल

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०७५



  • सन्तोष गौतम

    बाबियाचौर, म्याग्दी, ७ असार (रासस) ः धौलागिरि गाउँपालिका–४ मुदीको जेल्तुङ र सिम्कोश गाउँको सिमाना म्याग्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ ।

    गाउँपालिका र टिबिएसयुको सहयोगमा भौगोलिकरुपमा विकट तथा दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश बगरगाउँका बासिन्दाले १०२ मिटर लामो झोलुंगे पुल निर्माण गरेका हुन् । २०७४ असारमा म्याग्दी नदीमा आएको बाढीले म्याग्दी नदीमा आएको बाढीले काठको झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या भएको थियो ।

    पुल निर्माण भएपछि साँघु र तुइनबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले जानकारी दिनुभयो । पुल बगाएपछि सिम्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नुन तेल तारेर उपभोग गर्दै आएका थिए ।

    गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याइएको छ । रु ४६ लाख १४ हजार ७५९ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका अध्यक्ष पुनले बताउनुभयो ।

    गाउँपालिकाको रु पाँच लाख ५३ हजार ८०३, टिबीएसयुको रु पाँचलाख सातहजार ८६ बराबरको लट्ठा र बुल्डअफ ग्रिप, रु २० लाख २२ हजार ४९३ नगद, रु १४ लाख २६२ को निर्माण सामग्री र समुदायको रु ९२ हजार २०१ बराबरको श्रमदानमा पुल निर्माण भएको हो ।

    २०७४ फागुन ८ गतदेखि निर्माण शुरु भएको पुल लक्ष्यभन्दा करीब एक महिनाअघि नै सम्पन्न भएको हो । असार २० गते सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियताका कारण एक महिनाअघि नै काम सकिएको पुल निर्माणमा सामुदायिक परिचालन तथा प्राविधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी प्राविधिक विष्णु पन्तले बताउनुभयो ।

    धार्मिकस्थलको संरक्षण गरी पर्यटन विकास

    यसैबीच, म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका बासिन्दा धार्मिकस्थलको संरक्षण र पूर्वाधार विकास गरी गाउँमा पर्यटक भित्र्याउने अभियानमा जुटेका छन् ।

    जिल्ला सदरमुकाम बेनीबजारको उत्तरी क्षेत्रको शिरमा रहेको जामुनाखर्कको डाँडामा भगवती मन्दिर निर्माण गरेका स्थानीयवासीले बेनीदेखि जामुनाखर्क, राममन्दिर, पछै, पुलाश्रम हुँदै जगन्नाथ जोड्ने धार्मिक पदमार्ग सञ्चालनको पहल थालेका छन् ।

    सामुदायिक वन र स्थानीयवासीबाट सहयोग जुटाएर रु १२ लाखको लागतमा भगवती मन्दिर पुनःनिर्माण गरिएको निर्माण समितिका अध्यक्ष खडानन्द शर्माले जानकारी दिनुभयो । बडादशँै र चैतै दशैँमा विशेष पूजाआजा हुने मन्दिरमा दैनिक पूजा सञ्चालनसँगै थप पूर्वाधार निर्माणको लागि पहल भएको छ ।

    मन्दिर निर्माणका लागि खैरेनी र ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले रु एक÷एक लाख सहयोग गरेका छन् । यसैगरी सममुरेले रु पाँच हजार ५००, राम्चेले रु १० हजार, सानो चौतारीले रु १५ हजार उपलब्ध गराएका छन् ।

    जामुनाखर्कका ८० घरधुरीबाट श्रमदान र आर्थिक सहयोग जुटाएर मन्दिर पुनःनिर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । मन्दिर परिसरमा वडाको प्रस्तावमा नगरपालिकाले उपलब्ध गराएको रु एक लाखबाट सत्तल निर्माण भएको छ ।

    डिलकुमारी रानाले जग्गा उपलब्ध गराउनुभएको थियो । स्थानीय शंकर शर्माले निजी लगानीमा गणेशको सानो मन्दिर पनि बनाउनुभएको छ । बेनीको क्याम्पसचोकदेखि जामुनाखर्क, पछै, जगन्नाथ जोड्ने धार्मिक पदमार्ग सञ्चालनमा ल्याएर पर्यटक भित्र्याउने लक्ष्य रहेको वडासदस्य गणेश शाहीले बताउनुभयो ।

    म्याग्दी र कालीगण्डकीको दोभान, नागबेली परेर बगेको कालीगण्डकी, बेनी र पर्वत बेनी बजार, गलेश्वर, मल्लाजका साथै धौलागिरि हिमालको पनि दृष्यावलोकन गर्न सकिने उक्त स्थान ओझेलमा परेको छ ।

    मन्दिर परिसरमा घेराबार, व्यवस्थित पदमार्ग र उद्यान बनाएर बेनीमा आउने पर्यटकलाई जामुनाखर्क पु¥याएर प्राकृतिक दृश्यपान गराउने योजना रहेको वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो । बेनीदेखि पन्ध्र मिनेट उकालो पैदल हिँडेपछि जामुनाखर्क पुग्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij