बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

देउसी खेलेर संकलित रकम अपांगलाई सहयोग

  • प्रकाशित मिति : शनिबार, असार ९, २०७५



  • फलेवास, पर्वत, ९ असार (रासस) -एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन्, सामान्य परिवारका ती अपांगको उपचार र खानपानका लागि समेत समस्या छ ।

    सुतेरै जीवन बिताइरहेका ती अपांगको पीडा र समस्या यूटुबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन् ।

    अमेरिकाको भर्जिनीयामा बस्ने साना बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको तथा विद्यालयको खाजा खर्च कटाएर जम्मा गरेका रकम पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीका बलबहादुर परियारको तीन अपांग छोरीलाई सहयोग गरेका हुन् ।

    भर्जिनियामा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका–४ का माधव र सरिता उपाध्यायका छोराछोरी स्मृति र प्रतिक तथा उनका साथीहरुले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको रु ३१ हजार आर्थिक सहयोग गरेका छन् ।

    सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृति तथा प्रतिककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गर्नुभयो ।

    सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफू र कार्यालयबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    जन्मेदेखिनै ओच्छ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार अपांग छोरीमध्ये एक जनाको मृत्यु भइसकेको छ । अहिले २३ वर्षीया मिठु परियार, १५ वर्षीया गंगा र १३ वर्षीया अनिताको पालनपोषण परिवारले गर्दै आएका छन् ।

    उपचारका लागि बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पतालसम्म पु¥याए पनि उपचार सम्भव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij