प्रकाशित मिति : बुधबार, असार २०, २०७५
हेटौँडा, २० असार (रासस)- प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो ।
उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशमा गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिनुभयो । बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई कर दायरामा ल्याउन पनि उहाँहरुले माग गर्नुभयो ।
सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेन्टलगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजश्व वृद्धि गर्न सुझाउनुभयो ।
विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणालीमार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सीमार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उहाँहरुको सुझाव थियो ।
सार्वजनिक क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनलाई समयानुकूल सेवामा सुधार गरी सर्वसाधारणलाई सुविधा उपलब्ध गराउन प्रदेश सरकारले नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिँदै सदस्यहरुले सार्वजनिक सवारीलाई करको दायरामा ल्याउँदा सर्वसाधारणलाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्ने बताउनुभयो ।
सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार अपराह्न ३ बजे बस्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij