प्रकाशित मिति : बुधबार, साउन २, २०७५
काठमाडौँ, २ साउन (रासस)-सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत पहिलो ‘प्याकेज’को कार्यान्वयनका लागि विकासकर्ता कम्पनी नेपवेष्ट कम्पनी प्रालिसँग वार्ता सम्पन्न गरेर बोर्डले तयार पारेको परियोजना विकास सम्झौतालाई पनि स्वीकृत गरेको छ ।
उक्त प्याकेजअन्तर्गत काठमाडौँ महानगरपालिका, दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वर–मनहरा तथा शंखरापुर नगरपालिका समेटिएका बोर्डले जनाएको छ ।
साथै, बैठकले पश्चिम सेती जलविद्युत् आयोजना शीघ्र कार्यान्वयन गर्न लगानी बोर्डको कार्यालयलाई अर्थ र ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग समन्वय गरी परियोजनाका सम्बन्धमा विकासकर्ता कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँग छलफल गर्न र दुई महिनाभित्र निष्कर्षमा पुग्न निर्देश गरेको छ ।
त्यसैगरी, बैठकले लगानी बोर्ड ऐन, २०६८ लाई समयसापेक्ष बनाउन बोर्डले तयार पारेको संशोधन प्रस्ताव परिमार्जन गरी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सम्बन्धित निकायका प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij