आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता नै नागरिकको अपेक्षा “- प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, भदौ २२, २०७५



  • काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता नै नागरिकको अपेक्षा रहेको बताएका छन् । १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीप्रति हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस, २०७५ का अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

    निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गरेका छन् ।

    राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।

    ‘जननिर्वाचित संविधान सभाबाट संविधानको निर्माण भई तीन वटै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना संस्थागत भइसकेको छ,’ १५ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको छ । अनि यतिखेर, प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रकृया पनि अघि बढिरहेको छ ।’

    नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवर्द्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहेकोमा प्रधानमन्त्रीको जोड छ । ‘वर्तमान सरकार यही अवस्थाको सिर्जना गर्न प्रतिवद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ अग्रसर छ । त्यसैले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ ।’

    यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्ने प्रधानमन्त्रीको विश्वास छ । ‘तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौं शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।’

    समयवद्ध, उपलब्ध स्रोत-साधनको पूर्ण सदुपयोग तथा मितव्ययिता र सबैले अनुभूत गर्न वा मापन गर्न सक्ने गरी उपलब्धि हासिल गर्ने क्षमता भएको प्रशासनिक प्रणाली स्थापित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ । उनले भनेका छन्, ‘निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरता साथै कानूनी र प्रकृयागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो । नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् । राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलस्य नगर्ने, जिम्मेवारी वोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्नेछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij