प्रकाशित मिति : बिहिबार, कार्तिक ८, २०७५
सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ।
सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो। यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानी आएका बेला प्रयोग गर्नेछन्।
भैंसेपाटीमा सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट सात वटै प्रदेशका लागि जग्गा दिने तयारी भएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।
संघीयता भएका मुलुकहरूमा प्रदेशका मुख्यमन्त्री र प्रमुखलाई केन्द्र सरकारले आवास उपलब्ध गराउने गरेका कारण आवास निर्माणको तयारी भएको उनले बताए।
सांसद आवासकै उक्त जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीको क्वाटर निर्माण गरिने राईले बताए।
‘२४ मन्त्रीका लागि अहिले नै मन्त्री क्वाटर अभाव छ’, राईले भने, ‘पुल्चोकमा रहेको मन्त्री क्वाटर पुरानो भैसकेको छ।’
हाल प्रतिनिधि सभाका उपाध्यक्ष, सहरी विकास मन्त्री, सञ्चार मन्त्री, कानुन मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी मन्त्रीले पुल्चोकमा क्वाटर पाएका छैनन्।
‘क्वाटर अपर्याप्त छ’, राईले भने, ‘मन्त्री क्वाटर भएको ठाउँमा विदेशी राष्ट्रप्रमुखका लागि पाहुना गृह बनाउने छौं।’
उनले सात वटासम्म विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुख आएका बेला बस्न मिल्ने भवन बनाउन तयारीमा मन्त्रालय रहेको बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij