आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसद अधिवेशन आह्वान नहुँदा कानुन निर्माणको काममा बाधा

  • प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५



  • काठमाडौं, मंसिर ६ । संघीय संसद सचिवालय आगामी अधिवेशनको तयारी गरेर कहिले संसद आह्वान हुन्छ ? भन्दै प्रतिक्षा गरिरहेको छ ।

    संविधान जारी भएपछि संविधानसँग बाझिएका लगभग ३५० ओटा कानुन आगामी फागुन २१ गतेभित्र परिमार्जन गर्नुपर्नेछ ।

    यसैगरी, प्रदेश र स्थानीय सरकारको सहजताका लागि धेरैओटा नयाँ कानुन निर्माण पनि गर्नुपर्नेछ । तर, सरकारले संघीय संसद अधिवेशन आह्वान नगर्दा कानुन निमार्णको काम अघि बढ्न सकेको छैन ।

    नेपालको संविधानबमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । सामान्यतः वर्षमा दुईपटक संसद अधिवेशन आह्वान गर्ने प्रचलन छ ।

    प्रतिनिधिसभाको अघिल्लो अधिवेशन २०७५ साल वैशाख २३ मा सुरु भइ असोज ११ मा अन्त्य भएको थियो ।

    संविधानमा दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।

    संविधानको व्यवस्थाबमोजिम संसद अधिवेशन बोलाउन त्यति हतारो नभएपनि वार्षिक ‘क्यालेन्डर’अनुसार संसद अधिवेशन बोलाउन ढिला भइसकेको छ । तरपनि सरकारले अधिवेशन बोलाउने छेकछन्द भने ल्याएको छैन ।

    आगामी फागनु २१ गतेभित्र ३३९ ओटा कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने अवस्था छ । ती कानुनहरु संसदमा दर्तासमेत भएका छैनन् ।

    सामान्यतः एउटा विधेयक मस्यौदादेखि कानुनको रुप लिने अवस्थासम्म पुग्न दुईदेखि तीन महिनाको समय लाग्छ । संसद नबस्दा त्यो प्रक्रिया अघि बढ्नै सकिरहेको छैन ।

    संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेकाअनुसार सभामुख कृष्णबहादुर महरालेसमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छिटो अधिवेशन आह्वान गर्न आग्रह गरिसकेका छन् ।

    समयमा काम नहुँदा विधेयकहरुलाई परिपक्व हुन लाग्ने प्रक्रिया निलम्बन गरेर पटक–पटक कानुन निर्माण गरिएका छन् ।

    यसअघि, मौलिक हकसम्बन्धी कानुन निमार्णका बेला पनि समय कम भएकाले थुप्रै गल्तीहरु भए ।

    सोही गल्ती अब बन्ने कानुनमा नहोस् भन्नका लागि पनि समयमा नै अधिवेशन आह्वान गरी प्रक्रिया थाल्नुपर्ने तर्क गर्छन्, संघीय संसद सचिवालयका प्रवक्ता पाण्डे ।

    सरकारले संसद नै समय घर्किएपछि बोलाउने र समयको दबाबको बहानामा विधेयकहरु निश्चित प्रक्रिया नै पूरा नगरी पारित गर्दै जाँदा एकातिर कानुन बन्नेबित्तिकै धेरै त्रुटिहरु भेटिने गरेका छन् भने अर्कोतर्फ संसदीय प्रक्रिया र अभ्यास नमान्ने प्रवृत्ति बढ्दै गएको छ ।

    त्यतिमात्र होइन, संसद त्यस्तो थलो हो, जहाँ जनताका दुःख–मर्काका कुरादेखि सुशासन र विकासकाबारेमासमेत जनप्रतिनिधिले बोल्ने गर्दछन् ।

    संघीय संसद नचलेका कारण अहिले सांसदहरुले पनि आफ्ना कुरा औपचारिकरुपमा ‘रेकर्ड’ गराउन पाइरहेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij