प्रकाशित मिति : आइतवार, पुस १, २०७५
नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ।
कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आइतबार बुझाउने तयारी गरेका छन्।
‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं?,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’
तीन सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेको सिंहले जानकारी दिए। महासमिति बैठकमा एजेन्डा उठान गर्न २५ प्रतिशत अर्थात् चार सय जनाको हस्ताक्षर चाहिने सिंहले बताए।
‘चार सय जनाको हस्ताक्षर संकलन गरेपछि हिन्दु राष्ट्रबारे छलफल गर्न बैठकमा एजेन्डा लैजान मिल्छ,’ उनले भने, ‘संकलित हस्ताक्षर सकेसम्म पार्टी सभापतिलाई नभए सचिवालयमा दर्ता गर्छौं।’
हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने बताउने गरेका महामन्त्री शशांक कोइरालाले शनिबार महासमिति बैठक उद्घाटन समारोहमा धर्मबारे केही बोलेनन्। कांग्रेसको राजनीतिक दस्तावेजमा पनि संविधानअनुसार देश धर्मनिरपेक्ष नै रहेको उल्लेख छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij