प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राहदानी विभागको लापरवाही बारेका समाचारप्रति आफू गम्भीर भएको जनाउँदै समस्या समाधानका लागि तत्कालै आवश्यक व्यवस्था गरिने जनाएका छन्। गत मंगलबार अन्नपूर्ण पोस्ट् डटकममा ‘राहदानी विभागका लापरबाहीः हिटरको ओभरपावरले बत्ती गयो, सेवाग्राही घण्टौं लाइनमै’ शीर्षकको समाचार प्रकाशित भएको थियो।
ट्वीटरमा उनले भनेका छन्, ‘ध्यानाकर्षणका लागि धन्यवाद। समाधानका लागि तत्कालै आवश्यक व्यवस्था गरिनेछ।’ मन्त्री ज्ञवालीले सयौं नागरिकले दुख पाइरहने समस्याबाट मुक्त हुने भन्ने विश्वास दिलाएका छन्।
त्यस्तै शुक्रबार पुनः अन्नपूर्णमा ‘हास्यास्पद नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस’ भन्ने समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि ‘हेलो सरकार’ ले आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ।
अन्नपूर्णले समाचार प्रकाशित गरेपछि अन्य मिडियाले पनि यो विषयलाई फलोअप गरेका छन्। राहदानी विभागका प्रमुखले पनि पासपोर्ट बनाउन आउने मानिसले फोटो खिच्ने बेलामा कपालमा बुट पालिस दल्नुपर्ने कुरा अवगत नभएको भन्दै यस्ता कार्यलाई रोक्ने बताइसकेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij