आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोइरालाको नवौँ स्मृति दिवस: नेकपा र काँग्रेसबीच उच्चस्तरको सहमति आवश्यक

  • प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५



  • काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका पनि नायक गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

    कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो ।  कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो ।

    नेकपा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई अब पनि दिगो शान्तिका रुपमा अगाडि बढाउन अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच उच्चस्तरको सहमति आवश्यक रहेको बताउँछन्।

    वरिष्ठ नेता खनालले भने, ‘‘गिरिजाप्रसाद कोइराला लामो समयसम्म कम्युनिस्टसँग एकता नगर्ने पक्षमा उभिनुभयो तर जीवनको अन्तिमतिर आएपछि उहाँ कम्युनिस्टसँग सम्झौता गरेर जानुपर्ने पक्षमा उभिनुभयो । उहाँले १० वर्षसम्म युद्धमा रहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउने अगुवाइ गर्नुभयो, शान्ति सम्झौता गर्नुभयो र मुलुकमा शान्ति स्थापना गर्न महत्वपूर्ण निर्णय गर्नुभयो।’’

    पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई अहिले पनि दिगो शान्ति चाहिएको छ र कोइरालाले स्थापना गर्नुभएको शान्तिलाई सुदृढ बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘‘यस्तो बेलामा नेकपा जस्तो शक्तिशाली पार्टी र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच अहिले उच्चस्तरको सहमति आवश्यकता छ । त्यो समझदारी निर्माण गर्ने क्रममा दुवै पार्टीका नेताले गिरिजाप्रसाद कोइरालाले अन्त्यमा यी दुई शक्तिका बीचमा गरेको एकताको भावनाबाट सिक्न जरुरी छ ।’’

    मजदुरदेखि राष्ट्राध्यक्षसम्म 
    नेपाली राजनीतिमा उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष भए। वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोगे।

    उनले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गरे र छुटेर उनी भारत प्रवासमा गए। उनी २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भए।

    उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि भए। २०४६ सालको जनआन्दोलनका बेला उनी नै महामन्त्री थिए र २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री भए । उनकै कार्यकालमा नेपालमा खुला अर्थतन्त्रको सुरुवात भयो र नेपालमा निजी क्षेत्रको विकास तीव्ररुपमा अगाडि बढ्यो।

    पटकपटक नेपालको प्रधानमन्त्री भएका कोइराला आफ्नो भनाइ पूरा गर्ने राजनेताको रुपमा परिचित थिए। २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो तर झण्डै १६ वर्षको अवधिमा उनको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो ।

    सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित भए।

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उनीलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरे।

    राजतन्त्रविरोधी आन्दोलनको अगुवा
    युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गरे। लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहे । उनले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गरे।

    जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री भए।

    कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो ।संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिए।
    शान्ति प्रक्रियाका नायक
    लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल एकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ। संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उहाँ पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भए।

    वि.सं. २०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरे। वि.सं. २०६३ मङ्सिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो।

    पहिलो संविधानसभाको निर्वाचन गराउनुभएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष भए । उनी प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय ग¥यो र राजतन्त्रको अन्त्य भयो।

    विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन्  कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भयो। गाेरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij