प्रकाशित मिति : शनिबार, चैत्र ९, २०७५
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्।
सामुदायिक रेडियो प्रसारण सङ्घ ९अकोराब०को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ कार्यक्रममा आज उनले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।
उनले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताए। “हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ”, उनले भने, “हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।”
उनले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गरे। उनले पाँच÷ छ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गरे। सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उनले भने, “त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।”
मन्त्री बाँस्कोटाले नेपाली समाजमा पीडा र हिंसा अवसान नहुँदै कसैलाई हिंसा शुरु गरौँगरौँ लागेर नचाहिएका काम गर्न खोजिरहेको बताए। उहाँले कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाऊ भनेर सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भएको उल्लेख गर्दै तर अपराधी पत्ता लगाउने क्रममा कसैलाई समात्यो भने त्यो कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको बताए।
उनले अब सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले समेत कस्ता विज्ञापन प्रसारण वा छाप्ने भनेर आ–आफ्नो आचारसहिंता हुनुपर्ने धारणा राखे। मन्त्री बाँस्कोटाले काठमाडौँमा रेडियो फ्रिक्वेन्सी होल्ड गरेर राख्ने काम अत्याचार पूर्ण ढङ्गले रहेको उल्लेख गर्दै भने, “कसैले फ्रिक्वेन्सी नपाउने र कसैले नचलाएर होल्ड गरेका छन्, अब त्यो होल्ड गरेर राख्ने प्रावधान हटाउनु पर्दछ ।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij