प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६
काठमाडौं। सरकारले संसदमा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएसँगै आर्थिक वर्ष २०७६/०७७ को प्रि-बजेट माथि शुक्रबारदेखि संसद्मा छलफल सुरु हुने भएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन जानकारी दिए।
छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ। शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ-आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउनसमेत सभामुख महराले अनुरोध गरेका छन्।
हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि-बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो।
यसअघि पहिलाे प्रि-बजेटमाथि छलफल गएर नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियाे। तर याे पटक सरकारले पहिला नीति तथा कार्यक्रम ल्याएर पछि प्रि-बजेटमाथि छलफल गराउन लागेकाे हाे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij