प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रेस स्वतन्त्रता कुल्चिने गरी मिडिया काउन्सिल गठन सम्बन्धी विधेयक आए कांग्रेसले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँडले विधेयकका माध्यमबाट संविधानको प्रावधानलाई कुल्चिने प्रयास गरिए विधेयक संसदबाटै अघि बढाउन नदिने उद्घोष गरे ।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा खाँडले सरकारले संसदमा पेस गरेका प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए आफूहरु सडक आन्दोलनमा जान बाध्य हुने बताए ।
प्रमुख सचेतक खाँडले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नुपरेको बताए ।
नेता खाँडले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैंले सडकमा जान बाध्य बनाएको दाबी गरे । उनले खाँडले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरुको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको दाबी गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij