प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
काठमाडौं । कुनै पनि विदेश भ्रमणपछि स्वेदश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई भ्रमणबारे जानकारी गराउने परम्परा प्रधानमन्त्री केपी ओलीले शुक्रबार तोडेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरुलाई जिल्ल्याउँदै पत्रकार सम्मेलन गरेनन् ।
वैदेशिक भ्रमणपछि प्रधानमन्त्री, मन्त्रीलागयतले विमानस्थलमा हालसम्म भ्रमणबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै आएका थिए । स्वयम ओलीले पनि हालै भियतनाम र कम्बोडिया भ्रमणपछि फर्किँदा विमानस्थलमा पत्रकार सम्मेलन गरेका थिए ।
तर, शुक्रबारको दृश्य भने फरक देखियो । विमानबाट ओर्लेपछि नेपाली सेनाको सलामी ग्रहण गरेका ओली पत्रकारहरुलाई मुस्कानमात्र दिए । उनका सुरक्षाकर्मीले पत्रकारसँग भेटघाटको कार्यक्रम नरहेको जानकारी दिएपछि ओली भारत भ्रमणबारे जान्न विमानस्थल पुगेका पत्रकारहरु निराश भएर फर्किए ।
ओलीले विमानस्थलमा प्रतिक्रिया नदिनुलाई घरेलु राजनीतिमा तरंग पैदा भएको नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबारेको गोप्य सहमति बाहिरिएको विषयसँग जोडेर हेरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा दाहाल र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा भएपछि नेपाली राजनीति तरंगित भएको छ । यो विषयमा पत्रकारहरुले जिज्ञाशा राख्ने देखेपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलनबाटै ‘भागे’को विश्लेषण गरिएको छ । शुक्रबार विमानस्थलको दृश्य यस्तो हुनुमा यही विषयको ‘फेस’ कसरी गर्ने भन्ने विषयमा ओलीले तयारी नगरेको बुझिएको छ ।
विमानस्थलमा पत्रकार सम्मेलन नगर्नुको अर्को कारण भारतीय समकक्षीसँग भएको द्विपक्षीय वार्ता पनि हुनसक्छ । विमानस्थलमा प्रधानमन्त्री ओलीले नबोल्नुलाई भारतसँगको आगामी दिन शुःखद् नहुनेमा आशंका उब्जाई दिएको छ । यदि वार्ता र दिल्ली बसाई उत्साहपूर्ण भएको पक्कै पनि प्रधानमन्त्री ओलीले सो विषय नेपाली पत्रकारहरुसँग साझा गर्न अप्ठ्यारो मान्ने थिएनन् । भारतले लगाएको नाकाबन्दीका ‘खलपात्र’ एश जयशंकर विदेशमन्त्री बनेकाले पनि भारतसँगको आगामी सम्बन्ध कस्तो हुने हो भन्ने चिन्ता नेपालमा छन् । यस्ता प्रतिकुल वातावरण देखेपछि प्रधानमन्त्री ओलीले परम्परा नै तोडेर पत्रकार सम्मेलनलाई महत्व नदिएका हुनसक्ने जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij