प्रकाशित मिति : बिहिबार, असार १९, २०७६
चितवन। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने बताए। निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताए। महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो। “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”, उनले भने।
सरकारले गरेका कामहरुका कारण जनतामा फेरि काँग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो। गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए।
फरक प्रसङ्गमा उनले नेविसङ्घको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij