प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय बैठक काँगेसको नियमावली २०७६ का सन्दर्भमा केन्द्रीत रहेर छलफल भइरहेको बताइएको छ।
नेपाली काँग्रेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आजको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको थियो।’
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो।
आजको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको थियो। बैठकमा— नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ।
बाढी र पहिरोमा परेर भएको जनधनको क्षति सम्बन्धमा
अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा करीब एक दर्जन नागरिकको मृत्यु भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गम्भीर दुःख व्यक्त गर्दछ। ज्यान गुमाउनु हुने दिनीबहिनी–दाजुभाइको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ।
मुलुकभरिमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी यो बैठक आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन गर्दछ।
विशेषत, यो बैठक नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न माग गर्दछ। प्राकृतिक विपतको यस घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपत व्यवस्थापनमा जुट्न यो बैठक अपिल गर्दछ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ असार २९ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij