प्रकाशित मिति : आइतवार, साउन १९, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्।
पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारको नेतृत्वमात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन्।
प्रमुख दलहरूले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाइरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे।
विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरूले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप उनले लगाए।
उनले भने,‘आफूलाई प्रमुख भन्ने ठूला पार्टीहरू आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन। जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र वर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी। हामी कांग्रेस र कम्युनिष्टका भाइ पार्टी होइनौं । अहिले देशको समस्या केपी ओलीलाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन। जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राइभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन। बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ।’
अध्यक्ष थापाले राष्ट्र निर्माणको वैकल्पिक विचार र मार्गचित्र राप्रपासँग रहेको उल्लेख गर्दै धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्नु पर्ने बताए।
उनले सर्वत्र मौलाउँदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij