आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने, डिपिआर बनाउन एक करोड रकम विनियोजन

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • ओखलढुङ्गा। रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ। प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो।

    प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिए। सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर बजेटसमेत छुट्याइसकेकाले सम्भव भए मेरो कार्यकालभित्रै नभए पनि केही वर्षभित्र सम्पन्न गराउने गरी काम शुरु भइसकेको छ।”

    अब तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिनेछ। विज्ञहरुद्वारा सम्भाव्यता अध्ययनसहितका काम सकिएको छ। डिपिआर बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको छ। यसै वर्ष सो सम्बन्धी आधारभूत आयोजना शुरु हुनेछ। बजार व्यवस्थापन, ढल तथा सडक सुधार लगायतका काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको प्रदेशको रातो किताबमा उल्लेख छ।

    रुम्जाटार पूर्वी पहाडको समथर भूभाग भएको ठाउँ हो। गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ भेँडाको ऊनबाट बनाइने राडीपाखीका लागि चर्चित मानिन्छ। पछिल्लो समय लाहुर जाने, जागिर खाने र सुविधा सम्पन्न शहरमा बसोबास गर्नेहरु बढेकोले यो अवधारणाले सबैलाई लोभ्याएको पूर्वगाविस अध्यक्ष सीताराम गुरुङले बताए। यसले गर्दा सुविधाको खोजीमा हिँडेकाहरु गाउँ फर्किने सम्भावना रहेको उनको भनाइ छ।

    गुरुङले भने, “साँच्चिकै स्मार्ट सिटीको अवधारणअनुसारको काम भए र सेवासुविधा त्यहाँ भए स्वर्गजस्तो हावापानी पाइने ठाउँमा जो पनि फर्कन्छ।” सम्भाव्यता अध्ययनका लागि आएको विज्ञसहितको सरकारी टोलीसँग स्थानीयवासीले उक्त कार्यका लागि सक्दो सहयोग गर्ने बताइसकेका छन्।

    रुम्जाटार ‘स्मार्ट सिटी’का विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलेसमेत सम्बोधन गरिसकेका छन्। केही समयअघि सिद्धिचरण नगरमा बनाइएको स्रष्टापार्क उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले रुम्जाटारमा बनाइने ‘स्मार्ट सिटी’ ले मुलुकको परिचय बदल्ने बताएकी थिइन्।

    “ प्रदेश सरकारले रुम्जाटारमा बनाउने लागेको स्मार्ट सिटी यो जिल्लाको मात्रै होइन देशकै घुम्न लायक शहर बन्नेछ”, राष्ट्रपति भण्डारीले भनेकी थिइन्, “रुम्जाटार र यहाँ बन्ने आधुनिक शहर देखाएर मुलुकले देश–विदेशका पर्यटक ल्याउन सक्छ।” जनचाहना र दिगो विकासलाई ख्याल गरेर ‘स्मार्ट सिटी’ बनाउने अभियानमा जुट्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रुम्जाटारमा ‘स्मार्ट सिटी’ बनाउन लागेर प्रदेश सरकारले सम्भावनाको खोजी गरेको बताए। ओखलढुङ्गा महोत्सवको उद्घाटन गर्दै पोखरेलले भनेका थिए, “मुलुकका तीन वटै तहका सरकार नयाँ काम गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छन्। नवीनतम् कामहरु भइरहेका छन्।”

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रुम्जाटार ‘स्मार्ट सिटी’ निर्माणको योजना प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। त्यसका लागि आवश्यक बजेट क्रमागत रुपमा विनियोजन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री राईको भनाइ छ।

    “रुम्जाटार सम्भावना भएर पनि ओझेलमा परेको ठाँउ रहेछ, सांसद अम्बिरबाबु गुरुङले सम्भाव्यता झल्काउनु भएपछि प्रदेश सरकारले यसलाई नमूना आधुनिक शहर बनाउने काम थालिसकेको छ”, राईले भने, “थालेको काम पूरा गर्ने दायित्व हाम्रो हुनेछ। सकेसम्म छिटो र राम्रो काम गरेर नमूना प्रदर्शन गर्न चाहन्छौँ।” प्रदेश सरकारले प्रदेशका सम्भावित ठाउँहरुमा एकीकृत नमूना बस्ती र ‘स्मार्ट सिटी’ निर्माणको अवधारणा ल्याएको उनको भनाइ छ।

    रुम्जाटारमा प्रदेश सरकारको सहयोग र स्थानीयवासीको पहलमा प्रदेश नं १ कै नमूना गुम्बा निर्माण भइसकेको छ। लामो समय ठप्प रहेको रुम्जाटार विमानस्थलमा गत महीनादेखि नियमित उडान भइरहेको छ।

    ‘स्मार्ट सिटी’मा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुनेछ । यसलाई पूर्ण व्यवस्थित शहरका रुपमा परिभाषित गरिनेछ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij